Main News

लेखा समितिमा स्वास्थ्यमन्त्रीको बयान–स्वास्थ्य सामग्री खरिदमा मेरो कुनै संलग्नता छैन (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ३ गते १७:४८
लेखा समितिमा स्वास्थ्यमन्त्रीको बयान–स्वास्थ्य सामग्री खरिदमा मेरो कुनै संलग्नता छैन (भिडियोसहित)

३ पुस २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको बताउनुभएको छ ।

संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उपस्थित हुनुभएका मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा आफ्नो कुनै संलग्नता नभएको बताउनुभएको हो । उहाँले स्वास्थ्य सामग्री खरिदमा आर्थिक र अन्य विषयसँग सरोकार राख्ने र त्यसलाई प्रभावित गर्ने कुरामा आफ्नो संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ । तर आफुले मन्त्रालयको नेतृत्व गरेको हिसाबले महामारीको विरुद्धमा सहजीकरण गर्ने खालको सन्दर्भमा नीतिगत रुपमा मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने विषयमा मात्रै सहमति जनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘यसमा मन्त्रीको हिसाबले, मन्त्रालयमा नेतृत्व गरेको हिसाबले आर्थिक र अन्य विषयसँग सरोकार राख्ने, त्यसलाई प्रभावित गर्ने खालको विषयमा मेरो संलग्नता नरहेको र महामारीका विरुद्ध सहजीकरण गर्ने खालको सन्दर्भमा नीतिगत रुपमा मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने खालको विषयमा मन्त्रीको हिसाबले सहमति जनाएको छु ।’

मन्त्री ढकालले आफूले सहजीकरणका लागि मात्रै नीतिगत हिसाबले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र तलबाट उठेको विषयलाई स्वीकृति दिने काम मात्रै गरेको बताउनुभयो । त्यसबाहेक अतिरिक्त कार्यादेश र अतिरिक्त हस्तक्षेप आफुले नगरेको दाबी उहाँको छ ।

उहाँले भन्नुभयो ‘भएका विषयहरुलाई सहजीकरण गर्न अप्ठ्यारो परिस्थितिको सामना गर्ने विषयमा नीतिगत हिसाबले मन्त्रिपषिद्मा प्रस्ताव लाने, तलबाट उठेको विषयलाई मैले स्वीकृति दिएको मात्र हो । यसमा अतिरिक्त कार्यादेश र अतिरिक्त हस्तक्षेपको विषय नभएको व्यहोरा पनि म सादरपूर्वक अनुरोध गर्न चाहन्छु ।’

मन्त्री ढकालले चैत ९ गते मन्त्रिपरिषदको निर्णय भए अनुरुप र चैत ११ गते उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा १२ गतेका निर्णयहरु भएको बताउनुभयो । तर आफु १२ गते १ बजेदेखि ३ बजेसम्म स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा सहभागी भएको तर त्यसपछिका कुनै पनि कार्यक्रममा सहभागी नभएको समेत बताउनुभयो ।

उहाँले त्यसपछिका सबै प्रक्रियामा स्वास्थ्य सेवा विभागका तत्कालिन महानिर्देशककै नेतृत्वमा कामहरु भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘१२ गते स्वास्थ्य सेवा विभागको आयोजनामा मन्त्रालयमा हामीले भेला गरेका थियौं । त्यो कार्यक्रमको प्रमुख अतिथिको रुपमा म उपस्थित छु र एक बजेदेखि तीन बजेसम्म त्यो कार्यक्रम भयो । त्यस्ता कार्यक्रमहरु पनि चरणचरणमा भएका थिए । त्योभन्दा पछि ७ वटा समूह छनोट गर्ने कुरा र अरु प्रक्रियामा सम्बन्धित विभाग र विभागको महानिर्देशक कै नेतृत्वमा यी कामहरु भएका हुन् ।’

खरिद प्रक्रियामा मन्त्रीको स्वास्थ्य विज्ञ सहभागी हुने विषयमा समेत मन्त्रीस्तरबाट कुनै निर्णय नभएको पनि मन्त्री ढकालले बताउनुभयो । तत्कालिन महाप्रबन्धकको तर्फबाट मन्त्रीको विज्ञ सल्लाहकार त्यो विषयको जानकार भएको कारणले त्यससम्बन्धी जानकारी लिनलाई सहमागी गराइएको बताउनुभयो । खरिदका लागि सम्झौता गर्ने, सम्झौता खारेज गर्ने सबै अधिकार पूर्णरुपमा महाप्रबन्धकको भएकाले पनि आफुसँग सम्बन्धित नरहेको समेत बताउनुभयो ।

उहाँले भननुभयो ‘सम्झौता गर्ने, सम्झौता खारेज गर्ने, आर्थिक अधिकारदेखि सम्पूर्ण विषयमा कानुनतः पनि महाप्रबन्धकको अधिकार भएको व्यहोरा म सम्मानित समितिलाई जानकारी गराउन चाहन्छु र १९ गते स्वयं महाप्रबन्धकले यो सम्झौता एकपक्षीय ढंगले खारेज गर्नुभएका कारणले पनि कानूनतः यो विषय त्यहीसँग सम्बन्धित हो भन्ने कुरा छ । यसमा परिस्थिति गम्भिर, अप्ठ्यारो, सामग्रीहरुको अभावमा भयावह हुनसक्ने स्थितिलाई मध्यनजर राखेर छिटोछरितो गर्ने विषयमा सहजीकरण गर्नका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने विषयमा मन्त्रीको हैसियतले मैले सहमति जनाएको थिएँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *