समाज

पञ्चायतकालमा निर्माण थालेको लुङ्ग्री–माडी सिंचाइ आयोजना किन अझै पूरा भएन ?(भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ३ गते १६:३८
पञ्चायतकालमा निर्माण थालेको लुङ्ग्री–माडी सिंचाइ आयोजना किन अझै पूरा भएन ?(भिडियोसहित)

३ पुस २०७७ प्युठान । पञ्चायतकालदेखि निर्माण थालनी गरिएको प्युठानको लुङ्ग्री–माडी सिंचाइ आयोजना अहिले पनि सम्पन्न हुन सकेको छैन् । सिंचाइ नहुँदा उर्बरभूमि बाँझै छ । काम शुरु गरेको तीन दशक बितिसक्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन।

२०४२ सालदेखि निर्माण शुरु भएको प्युठानको लुङ्ग्री–माडी सिंचाइ आयोजना अहिले पनि सम्पन्न हुन सकेको छैन । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ स्थित लुंग्रीखोलाबाट १२ दशमलब ६ किलोमिटर कुलो निर्माण शुरु गरेको तीन दशकमा ७६ प्रतिशत काम सकिएको छ । तर पहिले निर्माण गरिएको कुलो भत्किन थालिसकेको छ ।

आयोजना बनेको भए स्वर्गद्वारी नगरपालिकाका ३ वटा वडाका साढे सात सय घरधुरीको १२ सय हेक्टरभन्दा बढी जग्गा यतिबेला हराभरा हुने थियो । कुलो बनेपछि पानी आउला र खेती गरौँला भन्ने स्थानीय बासिन्दाको आशा थियो ।

बर्सेनी ठेकेदार फेरिने र काम सम्पन्न नगरी भाग्ने गरे । जसले गर्दा कुलो निर्माणको काम पूरा भएन । त्यसैले सिंचाइ सुविधा नभएर किसानका उर्बरभूमि बाँझै छ । किसान निराश छन् ।

यो कुलो बनाउनका लागि सरकारको १४ करोड र स्थानीय जनश्रमदानबाट ५६ लाखभन्दा बढी रुपैयाँ खर्च भइसकेको छ । स्थानीय सरकारले ठूलो आयोजना भएकाले नगरपालिकाले काम गर्न नसक्ने भन्दै बाँकी काम सक्नका लागि संघ र प्रदेश सरकारलाई गुहारेको छ ।

सानो सिंचाइ आयोजनाको निर्माण तीन दशक बितिसक्दा पनि पूरा नहुनु दुःखद् हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले यो काममा तदारुकता देखाउन आवश्यक छ । विकास आयोजनामा हुने लापरवाहीको नमूना बनेको लुंग्री माडी सिंचाइमा बजेट विनियोजन बारेको अन्यौलता र ढिलाई हटाउन तीन तहकै सरकारको ध्यानपुग्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *