खेलकूद

नेपाली क्रिकेट टिमका लागि सरप्राइज प्याकेज ! को हुन् डेभ वाट्मोर ?(भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २ गते २०:४६
नेपाली क्रिकेट टिमका लागि सरप्राइज प्याकेज ! को हुन् डेभ वाट्मोर ?(भिडियोसहित)

२ पुस २०७७ काठमाडौं । पूर्व मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएसँगै ११ महिनादेखि प्रशिक्षकविहीन भएको नेपाली राष्ट्रिय क्रिकेट टिमले डेभ वाटमोरलाई प्रशिक्षक पाएको छ । आईसीसीसँगको समन्वयमा नेपाल क्रिकेट संघ (क्यान)ले अष्ट्रेलियाली नागरिक वाटमोरलाई प्रशिक्षक बनाएको हो । वाटमोर प्रशिक्षकका रुपमा भने नेपालका लागि सरप्राइज प्याकेज हुन् ।

राष्ट्रिय टोलीको प्रशिक्षकका रुपमा पहिलो पटक नेपाल आउन लागेका डेभ वाटमोर नेपाली क्रिकेटका लागि नौलो नाम होइन । उनले सन् २०१७ मा ब्याट एण्ड बल फाउन्डेसनको सहकार्यमा नेपाली टोलीलाई २ हप्ता प्रशिक्षण दिएका थिए ।

सन् १९५४ मा श्रीलंकाको कोलम्बोमा जन्मिएका वाटमोर ८ वर्षको उमेरमा परिवारसहित अष्ट्रेलिया पुगेका थिए । त्यहाँ उनले अष्ट्रेलियाको राष्ट्रिय टोलीबाट समेत खेल्ने अवसर पाए । सन् १९७९ मा इङ्ल्याण्डमा भएको एक दिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाको जर्सीमा देखिएका उनले एक वर्ष राष्ट्रिय टोलीबाट खेलेका थिए । उनले अष्ट्रेलियाका लागि ७ टेष्ट र एक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । दशक लामो खेलाडी जीवनबाट १९८९ मा सन्यास लिएका उनी त्यसपछि भने प्रशिक्षणतिर लागे । खेलाडीका रुपमा खासै सफल नभए पनि उनले प्रशिक्षकका रुपमा भने थुप्रै सफलता हात पारेका छन् ।

श्रीलंकामा जन्मिएका ६६ वर्षीय वाटमोरकै प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ मा एकदिवसीय क्रिकेट विश्वकप जितेको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा बामे सर्दै गरेको श्रीलंकी टोलीमा व्यापक परिवर्तन ल्याउँदै उनले श्रीलंकालाई एकदिवसीय क्रिकेटमा बलियो टोलीका रुपमा ल्याएका थिए ।

लगत्तै उनी इङ्लिस काउन्टी क्रिकेट टिम लंकाशायर पुगे जहाँ उनले टोलीलाई दुई राष्ट्रिय लिग र नेटवेस्ट ट्रफी जिताए । पुनः सन् १९९९ विश्वकपका लागि श्रीलंका फर्किएका उनले त्यस समय भने टोलीलाई समूह चरण पार गराउन सकेनन् । तर सन् २००३ को विश्वकपमा भने श्रीलंकालाई सेमिफाइनलमा पुराए ।

त्यसपछि प्रशिक्षण करिअरकै दौरान उनले सन् २००३ देखि २००७ सम्म बंगलादेशको राष्ट्रिय टोली सम्हाल्न पुगे । तात्कालिन समय विश्व क्रिकेटमा उदाउँदो राष्ट्र बंगलादेशले सन् २००५ मा पहिलो टेष्ट जित्दा उनी टोलीका प्रशिक्षक थिए । कार्डिफमा भएको एकदिवसीय क्रिकेटमा बंगलादेशले बलियो टोली अष्ट्रेलियालाई हराएको थियो । अप्रत्यासित नतिजा दिन सफल प्रशिक्षकका रुपमा चिनिएका उनै प्रशिक्षणमा बंगलादेश २००७ को विश्वकपको सुपर–एटका लागि छनोट भएको थियो । जहाँ बंगलादेशले विश्व क्रिकेटमा तहल्का मच्चाइरहेका भारत र दक्षिण अफ्रिकालाई हराएको थियो ।

बंगलादेश छाडेपछि उनी भारत र इङ्ल्याण्डको प्रशिक्षकका दावेदार पनि थिए । तर इङ्लिस टोलीको प्रशिक्षक बन्न असफल भएका उनी त्यसपछि २००७ मै भारतको नेसनल क्रिकेट एकेडेमीको निर्देशक र भारतीय उन्नाइस वर्ष मुनिको टोली पनि सम्हाल्न पुगे । उनकै प्रशिक्षणमा भारतले सन् २००८ मा मलेसियामा भएको अण्डर नाइन्टिन विश्वकप जितेको थियो ।

त्यस समय हाल भारतीय टोलीका कप्तान रहेका विराट कोहलीकै कप्तानीमा भारत खेलेको थियो । यसबीचमा २०१० र २०११ मा आईपीएल टोली कोलकाता नाइट राइडर्सको प्रशिक्षक रहेका उनी २०१२ मा पाकिस्तानको राष्ट्रिय टोलीका प्रशिक्षक नियुक्त भए । उनको प्रशिक्षणमा पाकिस्तानले एसिया कपसमेत जितेको थियो । त्यसपछि जिम्बाब्वे पुगेका उनले २०१७–१८ मा भारतीय रणजी ट्रफिका लागि केरला क्रिकेट एशोसिएसनको मुख्य प्रशिक्षकको जिम्मेजारी सम्हाले । यसै वर्षको फेबु्रअरीमा उनी सिंगापुरको राष्ट्रिय टोलीको प्रशिक्षक रहेका थिए । \

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्