Main News

काठमाडौं उपत्यकामा आज यो वर्षको धेरै जाडो, तराईमा बिहानैदेखि हुस्सु

हिमालय टिभी
२०७७ पुष २ गते ८:५८
काठमाडौं उपत्यकामा आज यो वर्षको धेरै जाडो, तराईमा बिहानैदेखि हुस्सु

२ पुस २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै धेरै जाडो भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ । यसअघि हिजो उपत्यकाको तापक्रम ३ डिग्री थियो ।

केही दिनयता काठमाडौँ उपत्यकाको तापक्रम नियमित घट्दै जाँदा चिसो अत्याधिक बढेको छ । रातको समयमा बादलले आकाश नढाकेकाले चिसो बढेको मौसमविद मञ्जु बासीले बताउनुभएको छ । यद्यपि दिउँसो १७–१९ डिग्री सेल्सियससम्म तापक्रम रहने बासीले जानकारी दिनुभयो ।

यस्तै आज बिहानैदेखि तराईका अधिकांश भू–भाग तथा पहाडका केही भागमा बाक्लो हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ । रातको समयमा हुस्सुसहित शीतलहर पर्न थालेपछि तराईका जिल्लामा ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा पर्न थालेका छन् ।

तराईमा दिउँसोसम्म नै हुस्सु लाग्ने र घाम लाग्ने सम्भावना कम रहेको मौसमविदले जनाएका छन् । हुस्सु र कुहिरोले पारदर्शितामा कमी भएकाले यात्रामा सजग रहन पनि महाशाखाले आह्वान गरेको छ ।
आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *