Main News

असार मसान्तसम्म ऋणीलाई कालोसूचीमा राख्न नपाइने

हिमालय टिभी
२०७७ पुष २ गते ६:०३
असार मसान्तसम्म ऋणीलाई कालोसूचीमा राख्न नपाइने

२ पुस २०७७ काठमाडौं । कोरोनाबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको खण्डमा आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्न नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन दिँदै कोभिड– १९ बाट प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेमा आगामी असार मसान्तसम्म कालोसूचीमा पर्नबाट रोकिने भएको छ ।

केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामा गरेको नयाँ व्यवस्थाअनुसार एकीकृत निर्देशिका जारी गर्दै उक्त व्यवस्था गरेको हो । कोरोनाबाट प्रभावित ऋणीको हकमा छ महिना वा सोभन्दा कम अवधिको ब्याज बक्यौता रहेको अवस्थामा कालोसूचीमा समावेश गर्ने प्रक्रियाको समयसीमा बढाइएको हो ।

यस्तै केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको नयाँ निर्देशिका अनुसार कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका कम्पनीलाई शेयर धितोमा कर्जा नदिने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकका अनुसार पछिल्लो तीन वर्ष लगातार नोक्सानीमा रहेका संस्था, व्यावसायिकरुपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका संस्था, विगत तीन वर्षदेखि साधारणसभा नगरेका संस्था र कम्तीमा २५० दिनको कारोवार मूल्य नभएका संस्थाको शेयर धितो राखेर कर्जा लिन पाइने छैन ।

त्यस्तै प्रयोजन नखुलेका कूल व्यक्तिगत अधिविकर्ष कर्जा अधिकतम प्रतिव्यक्ति रु ५० लाखसम्म मात्र प्रवाह गर्न सकिने व्यवस्था गरिएको छ । कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दाका बखत उक्त सीमा ननाघेको यकीन गरेर मात्र कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *