समाज

पूर्वमिस नेपालको डिजाइनमा मोरङमा यस्तो बन्दैछ ज्येष्ठ नागरिक ग्राम (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ३० गते १६:५६
पूर्वमिस नेपालको डिजाइनमा मोरङमा यस्तो बन्दैछ ज्येष्ठ नागरिक ग्राम (भिडियोसहित)

३० मंसिर, २०७७ विराटनगर । स्थानीय बासिन्दाको अवरोधका बावजुद प्रदेश १ सरकारले मोरङको ग्रामथानमा ज्येष्ठ नागरिक ग्राम बनाउन थालेको छ । स्थानीय भूमिहीन सुकुम्बासीले वैकल्पिक बसोबासको व्यवस्था मिलाएर मात्र ज्येष्ठ नागरिक ग्राम निमार्णको कार्य अघि बढाउन भन्दै आएका थिए ।

उनीहरुले ज्येष्ठ नागरिक ग्रामको शिलान्यास कार्यक्रममा अवरोध पनि गरे । तर प्रहरी लगाएर प्रदेश १ सरकारले स्थानीयको अवरोध छिचोल्दै ग्रामको शिलान्यास गरेको हो ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा ज्येष्ठ नागरिक ग्राम निर्माण परियोजना अघि बढाएको हो । १० बिगाहा १४ कठ्ठा जग्गामा निर्माण हुने ग्राममा ७२ वटा घर र चिल्ड्रेन पार्क बनाइने मन्त्रालयले जनाएको छ ।

२ सय जना नागरिकलाई सेवा दिन सक्ने क्षमताको मानव सेवा आश्रम र ६० वर्षमाथिका १ सय जनालाई सेवा दिनसक्ने क्षमताको ज्येष्ठ नागरिक ग्राम बनाइनेछ । यस्तै चिल्ड्रेन पार्कलाई नलेज पार्कको रुपमा विकास गर्ने लक्ष्य छ । १० करोडभन्दा बढीको लागतमा ज्येष्ठ नागरिक ग्राम निर्माण थालिएको हो ।

सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा ज्येष्ठ नागरिक ग्राम निर्माणका लागि ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ । स्थानीय सीपको उचित सदुपयोग र परम्परागत कला तथा संस्कृतिको जगेर्ना हुने ढङ्गले ज्येष्ठ नागरिक ग्राम निर्माणको अवधारणा अघि सारिएको छ ।

प्रदेश सरकारले सडकमा आश्रित भएर जीवन धान्न विवस भएका ज्येष्ठ नागरिकलाई सम्मानयोग्य जीवन निर्वाहको व्यवस्था गर्ने अवधारणाका साथ ज्येष्ठ नागरिक ग्राम निर्माणको परियोजना अघि सारेको हो ।

प्रदेश सरकारले मानव सेवा आश्रमसँगको सहकार्यमा निर्माण गर्न लागेका यो जमिन आफूहरुले वर्षौंदेखि भोगचलन गर्दै आएको तर अहिले सर–सल्लाहबिना अचानक हटाउन खोजेको स्थानीय बासिन्दाको गुनासो छ । उनीहरुले आफूहरुलाई विस्थापित गर्न खोजिएको भन्दै बसोबासको व्यवस्था मिलाउन माग राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *