Main News

सभामुख उपस्थित नभएपछि संवैधानिक परिषद् बैठक स्थगित

हिमालय टिभी
२०७७ मंसिर ३० गते १३:१४
सभामुख उपस्थित नभएपछि संवैधानिक परिषद् बैठक स्थगित

३० मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषदको बैठक पनि रोकिएको छ ।

सभामुख अग्नि सापकोटा नगएपछि बैठक रोकिएको हो । गत आइतबार विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा नजाँदा बैठक आजसम्मका लागि स्थगित भएको थियो ।

संवैधानिक परिषदका सदस्यसमेत रहेका सभामुख सापकोटा प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट भएर बैठकमा नगएको बुझिएको छ । सापकोटाको अनुपस्थितिका कारण कोरम नपुगेर बैठक बस्न नसकेको हो ।

आइतबार संघीय संसद सेवा दिवस परेकाले बैठकमा नगएको बताएका सापकोटाले आज भने अध्यक्ष र सदस्यहरुबीच समन्वयको अभाव भएको भन्दै बैठकमा नगएको जानकारी प्रधानमन्त्रीलाई गराएको बुझिएको छ ।

परिषदको बैठकका एजेण्डाहरु ४८ घण्टाअघि नै सदस्यहरुलाई उपलब्ध गराइनुपर्ने व्यवस्था भए पनि अध्यक्षले त्यसो नगरी बैठक डाकेको सभामुखको सचिवालयले जनाएको छ ।

अख्तियार, निर्वाचन आयोगलगायत विभिन्न संवैधानिक आयोगहरुमा रिक्त रहेका ४५ पदाधिकारीको नियक्तिका लागि प्रधानमन्त्री ओलीले परिषदको बैठक बोलाउँदै आए पनि बस्न सकेको छैन ।

नियुक्तिका लागि विपक्षी दलका नेता देउवासँग प्रधानमन्त्रीले परामर्श गरे पनि आफ्नै दलका नेताहरुसँग परामर्श नगरेको भन्दै नेकपाभित्रै असन्तुष्टि चुलिएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषद् ६ सदस्यीय हुने संविधानले परिकल्पना गरेको छ । परिषदका सदस्यहरुमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र विपक्षी दलका नेता रहन्छन् । उपसभामुखको पद रिक्त छ ।

परिषदको बैठकमा कोरम पुग्नका लागि प्रधानमन्त्रीबाहेक ४ जना सदस्यको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ । अहिले ४ जना सदस्यमात्र रहेकाले कोही एकजना उपस्थित नहुँदा पनि बैठक बस्न सक्दैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *