Main News

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषदको बैठक

हिमालय टिभी
२०७७ मंसिर ३० गते ७:०५
प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषदको बैठक

३० मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ ।

यसअघि आइतबार प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक बस्न सकेको थिएन । नेपाली कांग्रेसका सभापति देउवाले सोमबार कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्न लागेकाले बैठकमा नआउने जानकारी पठाउनुभएको थियो ।

देउवा र सापकोटा नआएपछि प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच केहीबेर अनौपचारिक कुराकानी भएको थियो ।

प्रधानमन्त्री ओलीले आज बस्नेगरी फेरि बैठक बोलाउनुभएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोगलगायतका संवैधानिक आयोगहरुमा ४५ पद रिक्त छन् । संवैधानिक नियुक्तिबारे मंसिर २७ मा कुराकानी भएकाले आजको बैठकमा विपक्षी दलका नेता देउवा सहभागी हुने बताइएको छ ।

संवैधानिक आयोगहरुमा नियुक्तिबारे पार्टीमा प्रयाप्त छलफल नगरिएको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने असहमति जनाउनुभएको बताइएको छ ।

पार्टी स्थायी कमिटी बैठक बसिरहेकाले राजनीतिक संवैधानिक नियुक्तिको प्रक्रिया बढाउन नहुने प्रचण्डको प्रस्ताव छ । यसअघि मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस लगायतमा ओलीले पार्टी निर्णय पालना नगरेको नेकपा नेताहरुको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *