Main News

रासायनिक मल खरिदका लागि नेपाली टोली आज बंगलादेश जाँदै

हिमालय टिभी
२०७७ मंसिर ३० गते ६:५८
रासायनिक मल खरिदका लागि नेपाली टोली आज बंगलादेश जाँदै

३० मंसिर, २०७७ काठमाडौं । रासायनिक मल खरिदका लागि नेपाली सरकारी टोली आज बङ्गलादेश जाँदैछ । नेपाल र बंगलादेशका सरकारबीच जिटुजीमार्फत मल खरीदका लागि समझदारी गर्न नेपाली टोली बिहान ९ बजे बंगलादेश जान लागेको हो ।

सरकारी टोलीको नेतृत्व गर्दै कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेत्रबहादुर भण्डारीको संयोजकत्वमा चार सदस्यीय टोली बङ्गलादेश जान लागेको हो ।

टोलीमा मन्त्रालयका सहसचिव कञ्चनराज पाण्डे, कम्पनीका खरिद महाशाखा प्रमुख विष्णुप्रसाद पोखरेल र मन्त्रालयका कृषि प्रसार अधिकृत अरुण जिसी हुनुहुनेछ । टोलीले बङ्गलादेश सरकारलाई भोलि मल खरिदको प्रस्ताव पेश गरेर सम्झौता गर्ने मन्त्रालयले जनाएको छ ।

यसअघि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर रासायनिक मल खरिद गरिएको भन्दा सस्तोमा मल नेपाल आउने अनुमान गरिएको कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बंगलादेशको भाउमा ५० हजार मेट्रिक टन युरिया मल खरिद गरेर ल्याइनेछ । खरिदको अन्तिम मूल्य बङ्गलादेश गएर सम्झौता गरेपछि मात्र थाहा हुनेछ । सम्झौता गरेको २०–२२ दिनमा मल नेपाल आइपुग्ने मन्त्रालयको अनुमान छ ।

ढुवानीका लागि कम्पनीले गत अशोज ३ गते आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार संयुक्त अरब इमिरेट्स युएईको जेन्ट्रेड एफजेडएफ कम्पनी छनोट भइसकेको छ । पाँच कम्पनीको आवेदन परेकामा जेन्ट्रेडले सबैभन्दा कम मूल्यमा ढुवानी गर्ने प्रस्ताव गरेको थियो ।

गत भदौमा दुई देशका सरकार प्रमुखबिच भएको टेलिफोन कुराकानीमा पैचोमा मल ल्याउने मौखिक सहमति भएको थियो । बङ्गलादेश सरकारले सुरुमा पैँचोमा दिने तयारी गरे पनि पछिल्लो समय खरीद गरेर लैजानुपर्ने प्रस्ताव राखेको थियो ।

सापटीमा मल ल्याएर पुनः फिर्ता गर्दा मूल्यमा समस्या हुने बताउँदै बंगलादेश अनिच्छुक भएपछि पुनः खरिद गरेर ल्याउन लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *