लोपोन्मुख कुसुन्डा जातिलाई भाषा, संस्कृतिभन्दा बास जोगाउने चिन्ता (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २९ गते १७:२४
लोपोन्मुख कुसुन्डा जातिलाई भाषा, संस्कृतिभन्दा बास जोगाउने चिन्ता (भिडियोसहित)

२९ मंसिर, २०७७ दाङ । गाउँले जीवन र परिवेशमा घुलमिल हुँदै रमाउन थालेका कुसुण्डाको आदि सभ्यता तथा मौलिक संस्कृति हराइसकेको छ । थोरै संख्यामा रहेका कुसुण्डा जातिलाई अहिले आफ्नो भाषा, संस्कृति जोगाउने भन्दा पनि बास जोगाउने चिन्ता छ ।

त्यसैमध्येका हुनुहुन्छ दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ का ८६ वर्षीय प्रेमबहादुर कुसुण्डा । उहाँ ७० वर्ष पहिले आफ्ना बुवा आमासँग जंगलमा बस्दै आउनु भएको थियो । कुसुण्डा नेपालको महाभारत र चुरे पहाडको जङ्गली भू–भागमा फिरन्ते जीवनयापन गर्ने एक आदिवासी जनजाति हो ।

लोपोन्मुख कुसुण्डा जातिको गोरखा, तनहुँ, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, प्यूठान, रोल्पा, दाङ, सल्यान र सुर्खेत जिल्लामा बसोबास छ । अहिले कुसुन्डा जाति वनमा फिरन्ते जीवन बिताउँदैनन् । सबै गाउँमा बस्न थालिसकेका छन् । गाउँको बसाइँसँगै उनीहरूको भाषा, संस्कृति, संस्कार पनि हराउँदै गइरहेको छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार कुसुन्डाको संख्या २ सय ७३ छ । तर अध्येताहरु कुसुन्डाको संख्या तथ्यांकमा उल्लेख भएभन्दा निकै कम रहेको ठान्छन । कुसुण्डा जातिको बसोबास ऐलानी जग्गा छ । त्यसैले उनीहरु जतिखेर पनि उठीबास हुन सक्ने चिन्तामा छन् । तसर्थ सरकारसँग उनीहरुको गुहार छ– स्थायी र व्यवस्थित बसोबास मिलाइदेउ ।

एकीकृत बस्ती नहुँदा कुसुन्डाको संस्कार, संस्कृति हराउँदै गएको छ । कुसुण्डा जातिले लगाउने कपडा र गरगहना हिजोआज चलनमा छैनन् । भाषा, संस्कृति र परम्परा बचाउन कुसुण्डा समाज लागी पनि रहेको छ । सबै कुसुण्डा जातिको एउटै एकीकृत नमूना बस्ती बनाएर भाषा संस्कार बचाइ दिए हुन्थ्यो भन्ने कुसुण्डा समाजको माग छ ।

लोपोन्मुख कुसुण्डा जातिको संरक्षणका लागि सरकारले उचित कदम चाल्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *