राजनीति

प्रधानमन्त्रीकै मिलेमतोमा सडकमा ‘राजा आउ देश बचाउ’ को नारा लागेको देउवाको आशंका

हिमालय टिभी
२०७७ मंसिर २९ गते १७:०६
प्रधानमन्त्रीकै मिलेमतोमा सडकमा ‘राजा आउ देश बचाउ’ को नारा लागेको देउवाको आशंका

२९ मंसिर, २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै मिलेमतोमा सडकमा राजा आउ देश बचाउको नारा लागेको हुन सक्ने आशंका गर्नुभएको छ ।

सरकारविरुद्ध वागमती प्रदेशको राजधानी हेटौंडामा भएको सभामा देउवाले प्रधानमन्त्री ओलीमाथि आशंका गर्नुभएको हो । अहिले गणतन्त्र विरोधी नारा ओलीकै कारण लागेको देउवाको दावी छ ।

सडकमा राजतन्त्रका पक्षमा नारा लागे पनि त्यो सम्भव नभएको भन्दै देउवाले आफ्नो पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रजातन्त्रका विरुद्ध जानुहुन्न भन्दा तत्कालीन राजाले आफूलाई थुनेको र राजाले प्रजातन्त्र नसहेका कारण आफूहरु गणतन्त्रको पक्षमा उभिएको देउवाले बताउनुभयो ।

ओली सरकार ज्ञानेन्द्रको शासनभन्दा पनि असहिष्णु भएको देउवाको आरोप छ । एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको भन्दै देउवाले सरकारको चर्को आलोचना गर्नुभयो । भ्रष्टाचार र बलात्कारका घटना बढेको भन्दै देउवाले प्रधानमन्त्रीलाई कोरोनाविरुद्धको लडाइँमा विना शर्त सहयोग हुन्छ भन्दा पनि काम नगरेको र कोरोनामा पनि भ्रष्टाचार गरेको गम्भीर आरोप लगाउनुभयो ।

यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकारका विरुद्ध सडकमा उत्रिएको छ । ओली सरकार सर्वसत्तावादी भएको, भ्रष्टाचार, कुशासन बढेको र कोरोना नियन्त्रण गर्न असफल भएको भन्दै कांग्रेसले देशभर प्रदर्शन गरेको छ।

कांग्रेसले काठमाडौंसहित देशका प्रमुख शहरमा शीर्ष नेताको उपस्थितिमा प्रदर्शन गरेको हो । विभिन्न चोकबाट र्‍यालीसहित शान्तिबाटिकामा कोण सभा गरेको छ । ललितपुरको लगनखेलमा प्रदर्शन भएको छ ।

कांग्रेसले बागमती प्रदेशको राजधानी हेटौंडामा सभापति शेरबहादुर देउवाको उपस्थितिमा प्रदर्शन गरेको छ ।

विराटनगरमा महामन्त्री शंशाक कोइरालाको नेतृत्वमा भएको प्रदर्शनमा नेताहरुले नेकपाको सरकार भष्ट्राचारमा लिप्त भएको आरोप लगाएका छन ।

यसैगरी, पोखराको वीपी चोक चिप्लेढुङगाबाट निस्केको र्‍याली महेन्द्रपुल, नयाँबजार हुँदै पृथ्वी चोकमा पुगेर कोण सभामा परिणत भएको छ । जनकपुरधाममा पनि कांग्रेसले प्रदर्शन गरेको छ ।

कांग्रेस बर्दियाले सदरमुकाम गुलरियामा विरोध र्‍यालीसहित सभा गरेको छ । कांग्रेसको पार्टी कार्यालयबाट शुरु भएको विरोध र्‍याली गुलरिया बजारको विभिन्न भाग परिक्रमा गरी राधाकृष्ण चोकमा पुगेर कोण सभामा परिणत भयो । पुल उद्घाटन गर्न जाँदा तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार भएको घटनापछि कांग्रेस एकाएक सरकार विरुद्ध आक्रामक भएको छ ।

तनहुँमा कार्यकर्ता आफैँ सडकमा उत्रिएपछि लगत्तै बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले देशभर एकैसाथ, एउटै नाराका साथ सरकार विरुद्ध प्रदर्शन गर्ने कार्यक्रम बनाएको हो ।

कांग्रेसले कोरोना संक्रमण फैलिन नदिन भौतिक दूरी कायम गर्दै मास्क लगाएर सडक प्रदर्शन गर्न कार्यकर्तालाई निर्देशन दिएको छ । सभापति शेरबहादुर देउवाले आजको सांकेतिक विरोधपछि सडकदेखि संसद्सम्म सरकारलाई तीव्र दबाब दिने बताउनु भएको छ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्