Main News

नेपालीकी श्रीमती भगाएर लैजाने भारतीय सीमा नाकामा पक्राउ

हिमालय टिभी
२०७७ मंसिर २९ गते १३:३३
नेपालीकी श्रीमती भगाएर लैजाने भारतीय सीमा नाकामा पक्राउ

२९ मंसिर, २०७७ कञ्चनपुर । भारतीय नागरिकबाट रकम लिई अवैधरूपमा नेपाल प्रवेश गराउन खोज्ने युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगरका १९ वर्षीय शैलेश अवस्थीलाई आइतबार साँझ बोर्डर आउट पोष्ट डोकेबजारको टोलीले नियन्त्रणमा हो । अवस्थीले भारतको मिजनौर धामपुर बस्ने २५ वर्षीय मोहम्मद आशिकबाट रु एक हजार रकम लिई सीमा क्षेत्रको तारबारबाट छिराउँदै गरेका बेला नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताउनुभयो ।

नियन्त्रणमा परेका अवस्थीलाई प्रहरीचौकी पचकडीया र भारतीय नागरिक आशिकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीको गौरीफण्टाका एएसआई मुनिमको जिम्मा लगाइएको छ ।

नेपालीकी श्रीमती भगाएर लैजाने भारतीय सीमा नाकामा पक्राउ
बेलौरी नगरपालिका–६ हात्तीबोझाका विमल रानाकी २० वर्षीया श्रीमती कञ्चन रानालाई भगाएर लैजाने भारतीय नागरिकलाई सशस्त्र प्रहरीले हिजो पक्राउ गरेको छ । भारतको पिलिभित पुरनपुर बस्ने २२ वर्षका हजिम खानलाई सीमा पक्राउ गरेको हो ।

बेलौरी नगरपालिका–६ नयाँ गाउँस्थित मुख्य सीमास्तम्भ नम्बर ७७६ नजिकबाट भाग्दै गरेका बेला नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताउनुभयो । भारतीय नागरिक खानलाई भारतीय एसएसवी जिम्मा लगाइएको छ भने भारतीयसँग भागेर जाने महिलालाई इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ ।

नेपालबाट भारततर्फ लैजाँदै गरेकी युवतीको उद्धार
नेपालबाट भारततर्फ जाँदै गरेका बाजुरा त्रिवेणी गाउँपालिका–१ १७ वर्षकी किशोरीलाई सशस्त्र प्रहरीले सीमा नाका डोकबजारबाट उद्धार गरेको छ । उद्धार गरिएकी किशोरीलाई शान्ति पुनःस्थापन केन्द्र कैलालीमा बुझाइएको छ । किशोरीलाई भारततर्फ लैजाने अजुर्न विकलाई पुनःस्थापन केन्द्रमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताउनुभयो ।

शुक्लाफाँटा–५ एक साताका लागि सिल
शुक्लाफाँटा नगरपालिकामा कोभिड–१९ का बिरामीको सङ्ख्या प्रतिदिन बढ्न थालेपछि वडा नं ५ एक साताका लागि सिल गरिएको छ । वडामा रहेका सरकारी तथा गैरसरकारी संस्था, विद्यालय, पसल, उद्योग अर्को सूचना जारी नहँुदासम्मका लागि मङ्सिर २९ गतेदेखि पुस ५ गतेसम्मका लागि बन्द गरिएका छन् । वडा क्षेत्रमा आवश्यक कामबाहेक अन्य कार्यका लागि हिँडडुल गर्नमा समेत प्रतिबन्ध लगाइएको छ ।

स्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै वडा क्षेत्रमा बाह्य व्यक्तिलाई प्रवेश दिइने वडाध्यक्ष कमल गिरीले बताउनुभयो । कोरोनाको सङ्क्रमण देखिएको वन समिति, खजुवा, गर्जमुनी, वैशाखा र वडाअन्तर्गत पर्ने पूर्वपश्चिम राजमार्ग क्षेत्रको आवतजावतमा कडाइ पारिएको छ । सोही वडाका एक वृद्धको गत साता कोरोनाको सङ्क्रमणकै कारण मृत्यु भएको थियो । दश कोरोना सङ्क्रमित होम आइसोलेसनमा रहेका छन् ।

नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार नगरपालिकामा १३४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

विभिन्न आपराधिक क्रियाकलापमा संलग्न फरार चार पक्राउ
विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका चार जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार पक्राउ गरेको छ । मानव ओसारपसार तथा बेचबिखन मुद्दामा वारदातदेखि फरार रहेका भीमद नगरपालिका–८ का पवन जोशीलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार जोशी मङ्सिर २३ गते वारदात गरेदेखि फरार रहेका थिए । पक्राउ परेकामाथि आवश्यक कारवाहीका लागि कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी कानूनबमोजिम कारवाही प्रक्रिया अगाडि बढाइएको छ । मानव ओसारपसार तथा बेचबिखन मुद्दामा उच्च अदातबाट दोषी ठहर भई १० वर्ष कैद र रु एक लाख जरिवाना सजाय फैसला भएका कैलालीको साविक बेलादेवीपुर गाविस–३ सेरी बस्ने ३३ वर्षीय बमबहादुर सार्कीलाई घर ठेनागामै लुकीछिपी बसेको बेला पक्राउ गरिएको छ ।

लागुऔषध खैरो हिरोइन मुद्दामा फरार रहेका धनगढी उपमहानगरपालिका–१३ बस्ने २२ वर्षका धीरज भट्ट र सोही ठाउँ बस्ने २३ वर्षका सुरेश ऐरलाई घरमा लुकीछिपी बसेको बेला पक्राउ गरी आवश्यक अनुसनधान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *