आर्थिक

पर्यटकीय सिजनमा गुल्जार देखिने लुक्लाबजार यो वर्ष यस्तो सुनसान (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २८ गते १७:१६
पर्यटकीय सिजनमा गुल्जार देखिने लुक्लाबजार यो वर्ष यस्तो सुनसान (भिडियोसहित)

२८ मंसिर, २०७७ सोलुखुम्बू । पर्यटकीय सिजनका बेला सगरमाथाको प्रमुख प्रवेशद्वार लुक्ला बजारमा ‘एभरेष्ट ट्रेल’ जानेको लर्को लाग्थ्यो। बजार क्षेत्र र पदमार्गमा पर्यटक र पर्यटनकर्मीको बाक्लो आवतजावत हुँदा बाटो हिँड्नसमेत मुस्किल पर्थ्यो। तर, यसपटक पर्यटकीय सिजनमै लुक्लाबजार सुनसान छ।

सोलुखुम्बुको लुक्ला पर्यटकीय सिजनमा पनि सुनसान छ । यहाँ कुनै पनि विदेशी पर्यटक भेटिन गाह्रो छ । पर्यटक आवागमन बढी हुने भएकाले लुक्लामा सानाठूला गरी ५० होटल छन्। यहाँका धेरैजसो मानिस होटल व्यवसाय र ट्रेकिङमा संलग्न छन्। पर्यटक नआउँदा उनीहरू सबैको खाने मेलो गुमेको छ । लुक्ला हुँदै नाम्चे, खुम्बु क्षेत्र र सगरमाथा आधार शिविरसम्मको ‘ट्रेकिङ रुट’ मा अहिले विदेशी पर्यटक भेटिदैनन् । लुक्लामा ४० वर्षपछि पर्यटन क्षेत्र ठप्प हुँदा यसको प्रभाव होटल व्यवसायमासमेत परेको छ ।

कोरोनाको असर खुम्बु क्षेत्रका सानाठूला सबै होटलमा परेको छ। त्यसको असर सिधै एयरलायन्सहरूमा समेत परेको छ । नेपालको आन्तरिक विमानस्थलमध्ये सबैभन्दा व्यस्त रहने यो तेञ्जिङ हिलारी विमानस्थल लुक्ला चैत यता सुनसान रह्यो ।

असोज ५ मा आन्तरिक उडान खुलेपछि बल्ल फाट्टफुट्ट हवाइजहाज आउन थालेका छन्। सामान्य अवस्थामा दैनिक एक सय हाराहारीमा उडान र अवतरण हुने यो विमानस्थलमा अहिले दैनिक ५ देखि ६ वटाको हाराहारीमा मात्र उडान हुने गरेको छ।

गत वर्ष ३१ हजार विदेशी पर्यटक भित्रिएको लुक्लामा चालु आर्थिक वर्षको चार महिनामा १ सय ८० जना मात्रै विदेशी पुगेका छन् । प्रदेश १ को प्रमुख पर्यटन क्षेत्रका रुपमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्लामा पर्यटक नपुगेका कारण प्रदेश १ मा पर्यटन शुल्कवापत सबैभन्दा धेरै आम्दानी गर्ने खुम्बु पासाङल्हामु गाउँपालिकाको आम्दानीसमेत घटेको छ । सगरमाथा क्षेत्रका लागि प्रवेश गर्न एकजना विदेशी पर्यटकले गाउँपालिकालाई २ हजार रुपैयाँ पर्यटन शुल्क बुझाउनु पर्छ ।

सन् १९५३ मे २९ मा विश्वको सर्वोच्च शिखर सगरमाथामा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पाइला टेकेयता लुक्लामा विदेशी पर्यटकको खाँचो थिएन । तर अहिले कोरोनाको महामारीका कारण लुक्लाको पर्यटन थचक्कै बसेको छ । लुक्ला फेरी जुर्मुराउन अझै समय लाग्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *