Main News

प्रधानमन्त्रीले आजका लागि बोलाएको संवैधानिक परिषद बैठक स्थगित

हिमालय टिभी
२०७७ मंसिर २८ गते १३:०१
प्रधानमन्त्रीले आजका लागि बोलाएको संवैधानिक परिषद बैठक स्थगित

२८ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि बैठक स्थगित भएको हो।

संवैधानिक परिषद्सम्बन्धी ऐनअनुसार बैठक बस्न परिषदका ६ सदस्यमध्ये कम्तीमा ५ जना उपस्थित हुनुपर्छ । उपसभामुख पद रिक्त छ ।

त्यसैले परिषद्का कुनै पनि सदस्य अनुपस्थित भएमा बैठक बस्न सक्दैन। संवैधानिक परिषदमा विपक्षी दलका नेता अनिवार्य हुनुपर्ने कानूनी व्यवस्था छ। सरकारविरुद्ध भोलि देशव्यापी रुपमा गर्न लागेको विरोध प्रर्दशनको तयारी गर्नुपर्ने भएकाले सभापति देउवा परिषद बैठकमा जान नभ्याएको देउवाका सहयोगी भानु देउवाले बताउनुभयो ।

सभापति देउवाले बैठकमा उपस्थित हुन नसक्ने व्यहोराको सन्देश हिजो नै प्रधानमन्त्री ओलीलाई पठाइसक्नु भएको थियो । सभामुख अग्नि सापकोटा पनि संसदको व्यवस्थापन समितिको बैठकमा सहभागि हुनु भएको छ ।

व्यवस्थापन समितिको बैठक प्रधानमन्त्रीले परिषद बैठक बोलाउनु अघि नै तय गरिएको सभामुखको सचिवालयले जनाएको छ ।

परिषद्‍मा प्रधानमन्त्री अध्यक्ष, प्रतिपक्षी दलका नेता, प्रधानन्यायधीश, सभामुख र उपसभामुख तथा राष्ट्रियसभा अध्यक्ष पदेन सदस्य हुन्छन्। ६ सदस्यीय परिषद्‍मा उपसभामुख एक जना भने रिक्त छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग, निर्वाचन आयोग लगायतमा प्रमुख तथा सदस्य गरी ४५ पद रिक्त छन । एक वर्षदेखि संवैधानिक परिषद्‍को बैठक बस्न सकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *