Political Hightlights

नेकपा स्थायी कमिटी बैठक आज, कार्यसूचीमा मतभेद कायमै

हिमालय टिभी
२०७७ मंसिर २८ गते ७:३३
नेकपा स्थायी कमिटी बैठक आज, कार्यसूचीमा मतभेद कायमै

२८ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । तर कार्यसूचीलाई लिएर मतभेद छ । बैठकको एजेन्डाकै विषयमा दुवै पक्षबीच विवाद देखिएको छ ।

गत मंसिर २४ मा भएको भेटमा सहकार्यका लागि प्रधानमन्त्री ओलीले राखेको प्रस्ताव प्रचण्डले अस्वीकार गरेसँगै दुई अध्यक्षबीच यो बीचमा संवाद हुन सकेको छैन ।

तर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हिजो अध्यक्ष प्रचण्डलाई भेटेर दुवै अध्यक्षको प्रस्ताव फिर्ता गर्ने, यसबीचका कमीजोरीप्रति आत्मालोचित हुँदै भदौ २६ मा स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयनका लागि पुनः कार्यदल गठनको प्रस्ताव राख्नु भएको छ ।

अन्यथा एकता संकटमा पर्ने भन्दै प्रधानमन्त्री ओलीका तर्फबाट पोख्रेलले सहमतिका लागि प्रस्ताव गर्नु भएको छ । तर, प्रचण्डले सबै विषय बैठकमै छलफल हुने भन्दै कमिटीबाहिर हुने छलफल र संवादको औचित्य नभएको प्रस्ट्याएको बुझिएको छ ।

४५ सदस्यीय नेकपाको स्थायी कमिटीमा अहिले ४३ सदस्य छन् । सभामुख अग्नि सापकोटा र पूर्वसभामुख कृष्णबहादुर महराको पद रिक्त छ । मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा अनुपस्थित प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली आजको बैठकमा सहभागी हुने–नहुने निश्चित भएको छैन ।

यसअघि ओलीले पत्र लेखेर प्रचण्डको प्रस्ताव छलफलमा लैजान नसकिने भएकाले आफू सहभागी हुन असमर्थ रहेको जनाउ दिनुभएको थियो । तर, ओलीपक्षीय नेताहरू भने बैठकमा सहभागी भएका थिए । महासचिव विष्णु पौडेलले भने ओली आजको बैठकमा सहभागी हुन सक्ने संकेत गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्