राजनीति

नेकपा स्थायी कमिटी बैठक: ओली नजाने, प्रचण्ड–नेपालले नरोक्ने (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २७ गते २०:४६
नेकपा स्थायी कमिटी बैठक: ओली नजाने, प्रचण्ड–नेपालले नरोक्ने (भिडियोसहित)

२७ मंसिर, २०७७ काठमाडौं । उत्कर्षमा पुगेको पार्टी विवाद समाधानका लागि सहमति खोज्न भन्दै एक हप्ता स्थगन गरिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक भोलि बस्दैछ । बैठक स्थगन गरेर सहमतिको प्रयास भएपनि नेतृत्वबीच कुनै ठोस समझदारी भएको छैन ।

सहमतिको लागि भन्दै गत मंसिर २४ गते अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको संवादले झन अन्योलता छाएको छ । अर्थात स्थायी कमिटी बैठकमा सहमतिको बाटो नभई दुवै पक्ष भिड्ने मुडमा लागेको छ । भोलिको बैठकमा कुन पक्षको के तयारी छ त ?

उत्कर्षमा पुगेको सत्तारुढ नेकपाको विवाद अब एक कदम अघि बढे दुर्घटनामा पुग्ने स्थितिमा छ । त्यही दुर्घटना रोक्न भन्दै गत मंसिर २१ गते शुरु भएको पार्टीको स्थायी कमिटी बैठक एक हप्ताका लागि स्थगन गरियो । स्थायी कमिटी बैठकलाई रोकेर यो बीचमा सहमतिका लागि भन्दै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भए पनि सहमति हुन सकेन । बरु, समस्या थप थपियो । मंसिर २४ गते प्रचण्डसँग भएको भेटमा प्रधानमन्त्री ओलीले मिलेर जाऔं र वरिष्ठ नेता माधवकुमार नेपालसँग भएको गठबन्धन तोड्न गरेको आग्रहलाई अस्वीकार गरेपछि दुवै पक्ष भिड्ने मूडमा देखिन्छन ।

प्रचण्ड–नेपाल पक्ष
प्रधानमन्त्री ओलीसँग तीव्र असन्तुष्टिमा रहेको अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष यसपटक निकै आक्रामक रुपमा स्थायी कमिटी बैठकमा प्रस्तुत हुने तयारीमा छ । गत २१ गतेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली नआएपछि सहमतिका लागि दिएको समयमा पनि कुनै प्रगति नभएपछि यो पक्षले अब बहुमतकै आधारमा भए पनि निर्णय गरेर जाने तयारी गरेको छ ।

प्रचण्ड–नेपाल पक्षले ओली सहमतिमा आए एक पद र नआए दुवै पदबाट राजीनामा माग्ने योजना समेत बनाएको छ । प्रचण्डले पार्टी सचिवालय बैठकमा पेस गरेको पत्र फिर्ता नलिई बैठक बस्न र छलफल गर्न नसकिने बताउँदै आएका ओलीको चाहनाविपरीत जान यो समूहको छलफल चलिरहेको छ ।

यो पक्षले बैठकमा हुनसक्ने निर्णय र आउने संभावित परिणामका विषयमा प्रदेशस्तरका नेता र तथा कार्यकर्तासँग पनि छलफल तीव्र पारेको छ । प्रचण्ड–नेपाल पक्षले अब ओली बैठकमा नआए पनि स्थायी कमिटीले निर्णय गर्ने र आगामी पुस ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा अनुमोदनका लागि लैजाने योजनासमेत बनाएको छ । ओलीले अहिलेसम्म बैठकमा नआउने अडान राख्नुभएको छ । किनकी प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने ओलीको म त छ । तर, त्यसलाई प्रचण्डले अस्वीकार गरिसक्नुभएको छ । र, आइतबारको बैठक पनि नरोकिने उहाँले प्रष्ट पार्नुभएको छ ।

ओली पक्ष
पार्टीको सबै कमिटी र संसदीय दलमा अल्पमतमा रहेका प्रधानमन्त्री ओली पक्ष यसपटकको पार्टी विवादमा रक्षात्मक अवस्थामा पुगेको छ । आफ्नो सहमतिबिना पनि प्रचण्ड र नेपाल पक्षले बैठकलाई अगाडि बढाउने र धमाधम निर्णय गर्ने गरेपछि नैतिक संकटमा ओली पक्ष छ ।

गत २१ गतेको स्थायी कमिटी बैठकमा पत्र पठाएका ओलीले प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा नजाने बताइरहनुभएको छ । तर, ओली पक्षकै नेताबाट बैठकमा जान दबाब बढिरहेको छ । दुवै पदबाट राजीनामा नदिने अडानमा रहेको ओली पक्ष पनि स्थायी कमिटी बैठकमा चनाखोपूर्वक प्रचण्ड–नेपाल पक्षसँग फेस गर्ने पक्षमा छ ।

सत्ता संकट टार्न प्रचण्ड र नेपालाई फकाउने कोशिस असफल भएपछि यो पक्षले आइतबारको बैठकमा अर्को कुनै नयाँ प्रस्ताव ल्याउने सभ्भावना छ । त्यो भनेको पहिले झै कार्यदल बनाएर समस्या समाधानका लागि प्रयास गर्ने, स्थायी कमिटीबाट संयुक्त प्रस्ताव बनाउन दबाब दिने ।

पटक–पटकको संकट पार गर्दै आएको ओली पक्षले प्रचण्ड–नेपाल पक्षसँग थप समय माग्ने संभावना पनि छ । केन्द्रीय कमिटी बैठकलाई अझै पर धकेलेर आगामी महाधिवेशनमा अध्यक्षमा सहयोग गर्नेगरी नेपाल वा प्रचण्डलाई फकाउने आशा अझै बाँकी छ । प्रचण्ड नेपाल नगलेको अवस्थामा स्थायी कमिटी बाहिरबाट समाधान खोज्नुपर्ने प्रधानमन्त्रीमा कायम रहेर पार्टी अध्यक्ष छोड्ने त्यसो गर्दा पनि नमाने दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने गृहकार्यमा पनि ओली पक्ष लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्