पाल्पाका १० वटै पालिकामा स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २७ गते १४:५४
पाल्पाका १० वटै पालिकामा स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन (भिडियोसहित)

२७ मंसिर, २०७७ पाल्पा । कोरोना जोखिमकै बिच पाल्पाका सबै सरकारी तथा निजी विद्यालयमा पठन पाठन शुरु भएको छ । यस बर्षको शैक्षिक सत्रको समय ४ महिना बाँकी रहँदा पाल्पाका १० वटै पालिकाका विद्यालयमा भौतिक रुपमै पठनपाठन शुरु भएको हो ।

कोरोना भाइरस संक्रमण रोक्न भन्दै गत चैतमा बन्द गरिएका विद्यालय खोल्न सरकारले औपचारिक निर्णय गरिसकेको छैन । तर संघीय सरकारले कोरोना जोखिम कम भएका स्थानमा स्थानीय तहसँगको समन्वयमा पठनपाठन शुरु गर्न निर्देशन दिएको छ । जसअनुसार पाल्पाका ग्रामीण भेगका विद्यालयमा तिहारलगत्तै पढाइ शुरु भएको थियो ।

तानसेन नगरपालिकाले पनि मंसिर २१ गतेदेखि नगरपालिका क्षेत्रका निजी तथा सामुदायिक विद्यालयमा पठान पाठन शुरु गरेको छ । तानसेन नगरपालिकाभित्र विद्यार्थीहलाई बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म आलोपालो प्रणालीबाट पठनपाठनको व्यवस्था गरिएको छ । विगतमा अनलाइनमार्फत पठनपाठन गराएपनि बालबालिकाहरु अहिले भने भौतिक दूरी कायम गराउँदै पठनपाठन शुरु गरिएको हो ।

तानसेनका सरकारी तथा निजी विद्यालयले कक्षा १ देखि ४ सम्म एउटा सिफ्ट, कक्षा ५ देखि ७ सम्म एउटा र कक्षा ८ देखि १० सम्म अर्को गरेर ३ सिफ्टमा कक्षा शुरु गरेका छन् । यस्तै विद्यालयमा भिडभाड नहोस् भनेर जोर गते जोर कक्षा, विजोर गते विजोर कक्षा, एकदिन पठनपाठन र एक दिन गृहकार्य परीक्षणको व्यवस्था गरिएको छ ।

बालबालिकालाई कोरोना संक्रमणबाट जोगाउन पीटी प्रदर्शन, प्रार्थना, साथीभाइसँग अँकमाल गर्ने, हात मिलाउने, विद्यालयमा खाजाजस्ता कार्यक्रम बन्द गरिएको छ ।

विद्यालयमा पुगेका विद्यार्थीलाई तालिकाअनुसार पठनपाठन गराएर घर पठाउने व्यवस्था गरिएको छ । विद्यालय पुगेका विद्यार्थीको गेटमा ज्वरो जाँच्ने, रुघाखोकी लागेकालाई विद्यालय प्रवेश नदिने, अनिवार्य मास्क तथा फेस शिल्डको प्रयोग गर्नुपर्ने, पञ्जा र स्यानिटाइजर प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । भौतिक तथा सामाजिक दूरी कायम गरी, स्वास्थ्यका मापदण्ड अपनाएर यसरी पठनपाठन शुरु हुँदा विद्यार्थी र अभिभावक खुसी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *