ढोल–झ्याम्टाका साथ वाडाङ्मी चाड मनाउन व्यस्त आठपहरिया राई समुदाय (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २६ गते १७:०२
ढोल–झ्याम्टाका साथ वाडाङ्मी चाड मनाउन व्यस्त आठपहरिया राई समुदाय (भिडियोसहित)

२६ मंसिर, २०७७ धनकुटा । आठपहरिया राई यतिबेला वाडाङ्मी चाड मनाउन व्यस्त छन् । खाल्साली राईले ढोल झ्याम्टाको तालमा स्थानीय भाकाका गीत गाउँदै पापानी चाड मनाइरहेका छन् । त्यसैले राईको बसोबास रहेका ठाउँमा यतिबेला विशेष रौनक छ ।

आठपहरिया राईको मुख्य बसोबास रहेको धनकुटा नगरपालिका क्षेत्रमा पनि अहिले चहल पहल छ । यो चहलपहल आठपहरिया राईको चाड वाडाङ्मीको हो । कात्तिक शुक्लपूर्णिमाबाट शुरु भएको यो चाड औंशीसम्म जारी रहन्छ ।

पछिल्लो एक वर्षमा जुठो परेका परिवारका सदस्य तीन दिन हिँडेर सुनसरीको बराहक्षेत्रस्थित कोकाहा खोलामा नुहाउन जान्छन् । त्यहाँ कपाल, दाह्री मुण्डन गरेर बराह भगवानको दर्शन गरी बरखी फुकाउने चलन छ । घर फर्किएर दुःख बिर्सिएर भक्ति गाउनुका साथै ढोल, मारुनी, डल्लो नाच नाचेर तथा राँगाको मासु, कुबिन्डो र फिलुगेंको अचारलगायतका परिकार खाएर मनाइन्छ ।

आठपहरियाले वाडाङ्मी मनाइ रहँदा धनकुटाको खाल्सा क्षेत्रका राई पापानी चाड मनाउन ब्यस्त छन् । कात्तिक पूर्णिमा पछिको पहिलो मंगलबार छिन्ताङ–३ मा रहेको साकेन्वा थानमा पूजा गरी यो पर्व शुरु हुन्छ ।

नयाँ बाली भित्रिएको खुशियालीमा ६ दिन ६ रातसम्म नाचगान गरी मनाउने गरिएको छ । कुलदेवताको पूजा गर्नुका साथै ढोल, झ्याम्टा बजाउँदै लहरै कुम जोडेर नाच्ने गरिन्छ । खाल्सा क्षेत्रका साविकको छिन्ताङ, आखिसल्ला र खोकु गाविसका राईजाति साँस्कृतिक धरोहरको रुपमा पापानी मनाउने गर्दछन् ।

यो चाडमा महिला र पुरुष एकै ठाउँमा भेला भएर नाच्ने चलन छ । पछिल्लो समय यस्ता चाड मान्ने चलन हराउँदै गएपछि संरक्षणमा युवापुस्ता अघि सरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *