Main News

चिसोमा मुटु र छातीका बिरामी जोखिममा, यस्ता छन् बच्ने उपाय (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २४ गते २०:५३
चिसोमा मुटु र छातीका बिरामी जोखिममा, यस्ता छन् बच्ने उपाय (भिडियोसहित)

२४ मंसिर, २०७७ काठमाडौं । चिसो बढेसँगै गम्भीर प्रकृतिका रोग भएकालाई समस्या हुने गर्छ । विशेषगरी छाती र मुटुमा समस्या भएकालाई चिसो मौसम निक्कै घातक हुने चिकित्सकको भनाइ छ । यो अवस्थामा छाती र मुटुका विरामीले के कस्तो सावधानी अपनाउनु पर्छ त ?

काठमाडौं उपत्यकासहित देशैभर चिसो बढ्दैछ । चिसो बढेसँगै रुघाखोकीको समस्या बढ्छ । रुघाखोकी बढेपछि स्वासप्रश्वाससम्बन्धी र अन्य गम्भिर प्रकृतिका रोग भएका व्यक्तिलाई अझै धेरै समस्या हुने गर्छ । चिकित्सकहरुका अनुसार मुटुरोगी, मधुमेह, स्वासप्रश्वासका समस्या भएकाले चिसोमा धेरै नै ध्यान दिनुपर्छ । मुटुका समस्या भएकालाई यो समयमा हुदयघात, उच्च रक्तचाप बढ्ने लगायतका समस्या देखिन सक्छन् ।

मुटुका बिरामीहले यो समयमा कम मात्रै शारीरिक क्रियाकलाप गर्न, नियमित रुपमा औषधी सेवन गर्न र बेलाबेलामा स्वास्थ्य परीक्षण गर्नु पर्छ । मुटु रोगीले चिल्लो तथा नुन कम खानु पर्छ, धुम्रपान तथा मद्यपान छुनै हुन्। दैनिक हल्का व्यायाम गर्नुपर्ने भए पनि बिहान बिहानै घरबाहिर निस्किएर व्यायाम नगर्न विज्ञको सुझाव छ ।

चिसोमा मुटुसँगै फोक्सोको समस्या पनि धेरै हुन्छ। यो समयमा फोक्सोमा इन्फेक्सन हुने, निमोनिया हुने, फ्लू हुने सम्भावना बढी हुन्छ। स्वासप्रश्वाससँग सम्बधित समस्या भएकाले यो समयमा विशेष ध्यान दिनु आवश्यक छ । स्वासप्रश्वासको समस्या भएकाले ढोका बन्द गरेर बन्द कोठामा आगो वा हिटर ताप्न हुँदैन । जहाँसुकै जाँदा पनि मास्कको प्रयोग गर्नु पर्छ, न्यानो भएर बस्न र नियमित औषधीको सेवन गर्न छातीरोग विशेषज्ञको आग्रह छ ।

कोरोना संक्रमणबाट जोगिन अपनाएका सावधानी मास्क लगाउने, भिडभाडमा नजाने लगायतका उपाय चिसोमा लाग्ने रोगबाट बच्न पनि उपयोगी छन् । त्यसैले चिसोमा मुटु र फोक्सोलाई सुरक्षित राख्न स्वास्थ खानपीन, प्रदुषणबाट टाढा रहनु, र नियमित औषधी प्रयोग गर्नु र आफूलाई न्यानोमा राख्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *