Main News

मर्यादित महिनावारी कहिले ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २४ गते २०:४९
मर्यादित महिनावारी कहिले ? (भिडियोसहित)

२४ मंसिर, २०७७ काठमाडौं । नेपालमा मर्यादित महिनावारीको विषयमा पटक पटक छलफल भइरहन्छन् । तर महिनावारीलाई मर्यादित बनाउन भने सकिएको छैन ।

रजस्वाला नियमित प्राकृतिक प्रक्रिया हो । उमेर पुगेका महिला रजश्वाला हुन्छन् । तर अहिले पनि यसबारेको बुझाई गलत छ । रजश्वाला भएका महिलाले घर बाहिर गोठमा बस्नु पर्ने कुरिती मध्यपश्चिम र सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाँकी नै छ। शहरी क्षेत्रमा पनि रजश्वाला भएका महिलामाथि भेदभाव र छुवाछुत हुने गरेको छ । अर्थात शहरदेखि गाउँसम्म महिलालाई पीडा दिने काम भैरहेको छ । त्यसैले किशोरी तथा महिला रजश्वलालाई हेर्ने मानसिकता परिवर्तन भएको चाहान्छन् ।

तर प्राकृतिक प्रक्रियालाई सहज रुपमा स्वीकार नगर्दा महिनावारी जटिल विषय बनेको हो । धार्मिकदेखि सामाजिक कारण देखाउँदै महिनावारीलाई अमर्यादित ठानिँदा महिला विभेद र हिंसामा परेका छन् । महिनावारी हुँदा भान्सामा छिर्न नदिनु, पुजापाठ गर्न नदिनुलाई कतिपयले सामान्य मान्ने गर्छन् । तर यसरी गरिने जस्तोसुकै विभेद गलत हो ।

रजस्वाला हुँदा सरसफाई, सफा प्याडको प्रयोग र पौष्टिक आहारमा विशेष ध्यान दिनुपर्छ । धार्मिक वा सामाजिक रुपले विभेद गर्दा यसले महिला तथा बालिकामा मानसिक तनाव समेत सृजना हुन्छ । त्यसैले महिनावारीका बेला उनीहरुको विशेष हेरचाह गर्न परिवारलाई प्रसुती रोग विशेषज्ञको सुझाव छ ।

महिनावारीको समयमा छाउगोठमा राख्ने र घर परिवारले महिनावारीको समयमा गर्ने व्यवहारका कारण प्रत्यक्ष, अप्रत्यक्ष रुपमा महिला हिंसामा परेका छन् । धार्मिक र सामाजिक रुपमा महिनावारीमा गरिने विभेदको अन्त्यको विकल्प छैन ।

नेपाल सरकारले महिनावारीलाई मर्यादित बनाउन राष्ट्रिय मर्यादित नीति नै बनाएको छ । महिनावारीको विषयमा जनचेतना फैलाउन र स्यानेटरी प्याडको वितरणमा विभिन्न गैह्रसरकारी संस्था पनि सक्रिय छन् । तर पनि महिनावारीको रगतलाई लाज,भेदभाव,अपवित्र,फोहोर भन्ने मानसिकता नहटेसम्म, जनचेतनाका लागि गरिएका कार्यक्रम अर्थहिन हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *