यातायात कार्यालय धनगढीको लापरवाही, कोरोनालाई खुला चुनौती (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २४ गते १६:४७
यातायात कार्यालय धनगढीको लापरवाही, कोरोनालाई खुला चुनौती (भिडियोसहित)

२४ मंसिर, २०७७ धनगढी । दैनिक सेवाग्राहीको भीड हुने धनगढीको यातायात व्यवस्था कार्यालयमा कोरोनाको कुनै प्रभाव देखिएको छैन । यातायात व्यवस्था कार्यालय धनगढीको भीड हेर्दा कोरोनाको प्रकोप सकिएको हो कि भन्ने लाग्छ । कार्यालयले सुरक्षाका कुनै सावधानी अपनाएको छैन । काममा भइरहने ढिलाइले सेवाग्राही पनि हैरान छन् ।

यातायात व्यवस्था कार्यालय धनगढी । यहाँ टाढाटाढाबाट आउने सेवाग्राहीले अनेकौ झन्झट बेर्होनु परिरहेको छ । सेवाग्राहीको भिडभाड र चापका कारण कोरोना संक्रमणको जोखिम पनि उत्तिकै छ । जहिले पनि यातायात कार्यालय अस्तव्यस्त बन्ने, समयमै काम नहुने समस्या सेवाग्राहीले भोग्दै आएका छन् । त्यस्तै कार्यालयका कर्मचारीको रुखो व्यवहारले सेवाग्राही हैरान छन् ।

त्यति मात्र होइन, कोरोना संक्रमणबाट मानिसको ज्यान जाने क्रम बढे पनि सरकारी कार्यालयबाटै स्वास्थ्य मापदण्डको उल्लघंन भइरहेको छ ।

सवारी साधनको सवारीपास गर्न, दर्ता, नवीकरण, राजस्व बुझाउन, नामसारी गर्न, स्मार्ट कार्ड लिन सेवाग्राही विभिन्न जिल्लाबाट आउने गरेका छन् । समयमै काम नबन्दा सेवाग्राही निराश छन् ।

सेवाग्राहीले समस्या भोगेको स्वयम कार्यालय प्रमुखले पनि स्वीकारेका छन् । सेवाग्राहीको चापका कारण भने जस्तो सुरक्षा मापदण्ड अपनाउन नसकेको तर सक्दो प्रयास गरिरहेको प्रमुखको दाबी छ ।

एकातिर यस्तो भिडभाडले कोरोना फैलने जोखिम छ भने अर्कोतिर सेवाग्राहीको कामसमेत समयमा भएको पाइँदैन । कामकाज सहज बनाउने र कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड अपनाउनेतर्फ सरोकारवालाको ध्यान पुगेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *