Main News

आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

हिमालय टिभी
२०७७ मंसिर २४ गते ७:४२
आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

२४ मंसिर, २०७७ काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संयोजनमा भ्रष्टाचारविरुद्धको क्षेत्रमा काम गर्दै आएका विभिन्न गैरसरकारी संघसंस्थाको सहभागितामा कार्यक्रम गर्दैछ ।

संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखमा दिवस मनाउने गरिएको छ । नेपालले सन् २०११ मा महासन्धि अनुमोदन गरेको थियो ।

नेपाल अझै पनि बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा छ । भ्रष्टाचारविरुद्ध आवाज बुलन्द पार्ने उद्देश्यले हरेक वर्ष दिवस मनाइए पनि भ्रष्टाचार रोकिएको छैन । नेपालमा भ्रष्टाचारका नयाँनयाँ रुपहरु देखिँदै आएका छन् ।

सरकारी कार्यालय र सुरक्षा निकायमा बढी भ्रष्टाचार हुने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

नेपालको संवैधानिक व्यवस्थाअनुसार कुनै सार्वजनिक पदधारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दूरुपयोग गरेको उजुरी आएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सक्छ ।

नेपालमा भ्रष्टाचारविरुद्ध कामकारवाही गर्ने सरकारी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो ।

दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिंदै भ्रष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले स्वच्छ, सुशासनयुक्त आचरण र व्यवहारमा काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *