आर्थिक

कस्तो होला सगरमाथाको उचाइले पर्यटन क्षेत्रमा पार्ने प्रभाव (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २३ गते २०:५३
कस्तो होला सगरमाथाको उचाइले पर्यटन क्षेत्रमा पार्ने प्रभाव (भिडियोसहित)

२३ मंसिर, २०७७ काठमाडौं । नेपालको पर्यटनको प्रमुख आधारमध्येको एक हो सगरमाथा । ‍सगरमाथाको नयाँ उचाइ घोषणा र त्यसबारेको अन्तरराष्ट्रिय मिडियामा प्रसारित सामग्रीले नेपालको पर्यटन प्रवर्द्धन गर्न सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ । पर्यटन व्यवसायीले पनि यो अवसरलाई उपयोग गर्नुपर्ने बताएका छन् ।

नेपाल र चीनले संयुक्तरुपमा घोषणा गरेको सगरमाथाको नयाँ उचाइबारे विश्वका सबैजसो मिडियाले महत्वका साथ समाचार प्रसारण गरेका छन् । अन्तरराष्ट्रिय मिडियाले सगरमाथाको उचाइ घटेको चर्चाका बीच अहिले बढेको पाइएको भन्दै सामग्री प्रकाशन प्रसारण गरेका छन् । सगरमाथाका कारण विश्वभरी नै नेपालको चर्चा पनि बढेको छ । यसले नेपालको पर्यटन प्रवर्द्धन गर्न सघाउने र जलवायु परिवर्तनले पारिरहेको असरबारे विश्वको ध्यान खिच्ने व्यवसायीको विश्वास छ ।

सर्वोच्च शिखर भएकाले सगरमाथा विश्वभरीका मानिसको चासोमा पर्छ । सगरमाथा नेपालको पर्यटनको समेत खम्बा हो । नेपाल भित्रिनेमध्ये धेरै पर्यटक हिमाल हेर्न र पदयात्राकै लागि आउने गरेका छन् । विश्वका अग्लामध्ये १० वटा हिमाल नेपालमा भएकाले यसबारेका सामग्रीले पर्यटक आवागमनमा सिधा प्रभाव पार्छ । त्यसैले सगरमाथाबारेको यो सकारात्मक समाचारलाई पर्यटन प्रवर्द्धनको अवसरमा बदल्न सरकार चुक्न नहुने व्यवसायीको सुझाव छ ।

कोरोना महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा पुर्‍याएको छ । महामारी अघि सन २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउने तयारी थियो । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले प्रचारप्रसारकै लागि करोडौँ रुपैयाँ खर्च गरिसकेको थियो । तर कोरोना महामारीले लगभग एक वर्षदेखि पर्यटकीय गतिविधि ठप्प छन् । खोपको सहज उपलब्धतासँगै विश्वको पर्यटन क्षेत्र फेरि जुर्मुराउने अपेक्षामा छ । यसै मेसोमा सगरमाथाको नयाँ उचाइले नेपालको पर्यटन क्षेत्रमा पनि नयाँ उत्साह जगाएको छ । यसलाई अवसरमा बदल्न सके पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *