Political Hightlights

सरकारकै अकर्मण्यताका कारण राजावादीको प्रदर्शन, सच्चिन दलहरुको सुझाव

हिमालय टिभी
२०७७ मंसिर २३ गते १४:५४
सरकारकै अकर्मण्यताका कारण राजावादीको प्रदर्शन, सच्चिन दलहरुको सुझाव

२३ मंसिर, २०७७ काठमाडौं । दलहरुले सरकारको कमजोरी र अकर्मण्ड्यताका कारण राजतन्त्रका पक्षमा प्रदर्शन भैरहेको भन्दै सच्चिन सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुले व्यवहार सच्याएर अघि बढ्न सरकारलाई सुझाव दिएका हुन् । दलहरुले सरकारका कारण जनतमा असन्तुष्टि बढेको, त्यसको परिणाम सडकमा देखिन थालेको र त्यसलाई राजावादीहरुले आफ्नो हित अनुकुल प्रयोग गर्न थालेको बताएका छन् ।

राजतन्त्रको पक्षमा भैरहेको प्रदर्शनलाई अस्वीकार गर्दै दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा ऐक्यबद्धतासमेत जनाएका छन् ।

बैठकमा नेपाली कांग्रेससहितका विपक्षी दलका नेताहरुले सरकार जनताको भावनाविपरीत चलेको र जनताको अपेक्षा अनुसार काम गर्न असफल भएको आरोपसमेत लगाएका छन् ।

बैठकबाट बाहिरिएपछि कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले हिन्दू राज्य तथा राजसंस्थाको पक्षमा सडकमा भइरहेका आन्दोलन पनि सरकारप्रति जनताको असन्तुष्टिकै परिणाम रहेको बताएको जानकारी दिनुभयो ।

कांग्रेसले छिटोभन्दा छिटो संसद अधिवेश बोलाउन र संवैधानिक निकायमा पदपूर्ति गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले भ्रष्टाचार तथा अनियमितता भएको र सरकारको कार्यशैलीकै कारण अहिले विभिन्न खालका असन्तुष्टि सडकमा देखिन थालेको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सर्वदलीय बैठकमा संवैधानिक राजतन्त्र र हिन्दू राज्यका बारेमा छलफल गर्नुपर्ने प्रस्ताव गरेको छ । राप्रपाका नेता दीपक बोहराले राजासहितको लोकतन्त्र र हिन्दू राज्यबारे बैठकमा निकास खोज्ने प्रस्ताव राख्नुभएको हो ।

राजावादीहरुको प्रदर्शन बढ्दै गएपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको थियो ।

राजावादीलाई प्रधानमन्त्रीले दिए यस्तो चेतावनी
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र उल्टिन्छ भनेर नसोच्न राजावादीहरुलाई चेतावनी दिनुभएको छ ।

आफूले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सडकमा भैरहेको आन्दोलनले व्यवस्था नफेरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन आग्रह गर्नुभएको छ ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी , नेपाली कांग्रेस, जनता समाजवादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्