Main News

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको देखियो, नयाँ उचाइ ८८४८.८६ मिटर कायम

हिमालय टिभी
२०७७ मंसिर २३ गते १४:१५
सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको देखियो, नयाँ उचाइ ८८४८.८६ मिटर कायम

२३ मंसिर, २०७७ काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको छ । अब सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर पुगेको छ ।

नेपाल र चीनले आज गरेको संयुक्त कार्यक्रममा सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको हो । भर्चुअल कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त रुपमा नयाँ उचाइ सार्वजनिक गर्नुभयो ।

यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर थियो । जुन उचाइ सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरेको थियो । दुबै देशले छुट्टाछुट्टै रुपमा सगरमाथाको उचाइ मापन पूरा गरेपछि एकीकृत रुपमा सार्वजनिक गरिएको हो ।

नेपालले पहिलोपटक आफ्नै स्रोत साधनको प्रयोग गरेर ग्लोबल न्याभिकेसन स्याटलाइट सिस्टम (जीएनएसएस) प्रविधिबाट सगरमाथाको उचाइ मापन गरेको हो । करिब २ वर्षअघि नेपालतर्फ उचाइ नाप्न शुरु गरिएको थियो ।

उचाइ मापन गर्न नापी विभागका दुई जना कर्मचारी खिमलाल गौतम र रविन कार्की मेसिन बोकेर २०१९ मे २३मा सगरमाथाको चुचुरो पुग्नुभएको थियो । उचाइ मापन गरिएपछि विभागमा ६ महिनासम्म डाटा प्रोसेसिङ गरिएको थियो ।

नेपालले सगरमाथाको मापनको काम अन्तिम चरणमा पुर्‍याएका बेला चीनले पनि उत्तरी मोहडाबाट सगरमाथाको मापन शुरु गरेको थियो । गत मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकले नेपाल र चीनका सर्भे अधिकारीले संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको प्रतिवेदन अनुमोदन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *