Main News

राजावादीको सक्रियता बढेसँगै प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २२ गते १९:३३
राजावादीको सक्रियता बढेसँगै प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक (भिडियोसहित)

२२ मंसिर, २०७७ काठमाडौं । राजतन्त्रका पक्षमा सभा प्रदर्शन बढ्दै गएपछि सरकार गम्भीर देखिएको छ । परिवर्तनकै विरुद्धमा आन्दोलन बढेपछि त्यसबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले भोलि बिहान ११ बजे बालुवाटारमा संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक बोलाउनुभएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्रीको सचिवालयका तर्फबाट समसामयिक राजनीतिक विषय भनिए पनि भोलिको बैठक राजतन्त्र र हिन्दू राज्यको पक्षमा भैरहेको आन्दोलनमा केन्द्रीत हुनेछ ।

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने संकेत देखिएको र पछिल्लो व्यवस्थामा दृढ रहने संकल्प गर्ने उद्देश्यसहित सर्वदलीय बैठक बोलाइएको बुझिएको छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुसँगको आग्रह र अनौपचारिक छलफलपछि बैठक बोलाइएको प्रधानमन्त्री ओली निकट एक नेताले जानकारी दिएका छन् ।

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा हिजो यसबारे जनार्दन शर्माले गम्भीर ढंगले कुरा उठाएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्थालाई लिएर छलफल गर्नका लागि आवश्यक परे सर्वदलीय बैठक बोलाउने बताउनुभएको थियो ।

प्रमुख प्रतिपक्षी दलका नेताहरुले पनि यसबारे सरकारको धारणा के हो भनेर सोधेकाले सबैको धारणा सुनेर कदम चाल्न बैठक बोलाइएको ती नेताले बताए ।

संविधान र प्रणालीकै बारेमा प्रश्न उठेकाले प्रधानमन्त्री ओली यसमा गम्भीर रहेको पनि उनले बताए । सत्तारुढ नेकपाले राजावादीको आन्दोलनमा भारतीय हिन्दूवादीका घुसपैठ हुन सक्ने गम्भीर आशंका छ ।

सीमा क्षेत्र नजिक भएका कतिपय प्रदर्शनमा भारतीय नम्बर प्लेटका सवारी साधन देखिएका छन् भने भारतीय नागरिक पनि त्यसमा संलग्न भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा राजावादी आन्दोलनमा समर्थन र अगुवाई गरिरहेको राप्रपालाई पनि बोलाइएको छ ।अघिल्लो हप्ता प्रधानमन्त्री ओलीकै गृह जिल्ला झापामा राप्रपाको अगुवाईमा राजतन्त्र र हिन्दू राज्यका पक्षमा शक्ति प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *