Main News

धर्मगुरु सिद्धबाबालाई बलात्कार आरोपबाट सफाइ दिने जिल्ला अदालतको आदेश

हिमालय टिभी
२०७७ मंसिर २२ गते १८:३०
धर्मगुरु सिद्धबाबालाई बलात्कार आरोपबाट सफाइ दिने जिल्ला अदालतको आदेश

२२ मंसिर, २०७७ सुनसरी । बलात्कार अभियोगमा पक्राउ परेका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले आज सफाइ दिएको छ ।

न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले अभियोग दाबी नठहर्ने भन्दै गिरीलाई सफाइ दिनुभएको हो । सरकारी वकिलका तर्फबाट बहस नै नभइ एकतर्फी सुनुवाइका आधारमा जिल्ला अदालतले गिरीलाई सफाइ दिएको हो ।

सरकारी वकिल कार्यालयले भने महान्यायाधिवक्ता कार्यालयमा पठाएको मिसिल आइनसकेको भन्दै आजको पेसी सार्न निवेदन दिएको थियो ।

तर त्यसको बेवास्ता गर्दै जिल्ला अदालतले आज हतारमा सुनुवाइ गरेर सफाइको निर्णय सुनाएको हो । पेसी सार्ने पत्र दर्ता नभएपछि सरकारी वकिलको कार्यालय आज बहसमा उपस्थित भएन ।

एक अनुयायीले गिरीविरुद्ध बलात्कार गरेको भनी जहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । गिरीविरुद्धको बलात्कार मुद्दा अहिले सर्वोच्च अदालतमा पनि छ ।

सर्वोच्चले गिरीलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो। मुद्दाको प्रारम्भिक सुनुवाइका क्रममा पनि सुनसरी जिल्ला अदालतले गिरीलाई धरौटीमा रिहा गरेको थियो। तर उनलाई उच्च अदालत मोरङले थुनामा पठाउने आदेश दिएको थियो ।

गिरीलाई प्रहरीले २०७६ साल मंसिर १६ गते विराटनगरस्थित विराट नर्सिङ होमबाट पक्राउ गरेको थियो । अनुयायी महिलाले आफूलाई भेट्न बोलाएर गिरीले चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी छन् ।

स्थानीय प्रहरीले गिरीलाई बचाउन खोजेको भन्दै आलोचना भएपछि केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले पनि घटनाबारे छानबिन अघि बढाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *