Main News

कोरोना महामारीसँगै बढ्यो मनोसामाजिक समस्या, यस्तो छ बच्न मनोचिकित्सकको सुझाव

हिमालय टिभी
२०७७ मंसिर २२ गते १३:३०
कोरोना महामारीसँगै बढ्यो मनोसामाजिक समस्या, यस्तो छ बच्न मनोचिकित्सकको सुझाव

२२ मंसिर, २०७७, टीकापुर । नेपालमा कोरोना सङ्क्रमणपछि भएको बन्दाबन्दीका कारण टीकापुरका मानसिंह परियार पाँच महिनादेखि राम्ररी सुत्नु भएको छैन । मानसिंहका दुई छोरा रोजगारीका सिलसिलामा विदेशमा थिए । विश्वभरि महामारीकारुपमा फैलिएको कोरानाका कारण छोराको रोजगारीसमेत गुमेपछि उहाँको भोक निद्रा हरायो ।

नेपालबाट रकम पठाएर भारतमा रहेका छोराबुहारीलाई मानसिंहले नेपाल ल्याउनुभयो । मानसिंहलाई रोजगार गुमेर विदेशमा रहेका छोराको अझै चिन्ता छ । दुवै छोराको रोजगार सङ्कटमा परेपछि उहाँको घरखर्च चलाउनसमेत समस्या भएको छ । यतिधेरै समस्या झेल्नुभएका उहाँलाई आजभोलि भोक, निन्द्रा नलाग्ने र एक्लै कुरा गर्ने बानी बसेको छ ।

“मलाई चिन्ता त चैतबाटै शुरु भयो, तर निन्द्रै नलाग्ने समस्या भएको पाँच महिना भयो”, उहाँले भन्नुभयो, “निन्द्रा हराउनेसँगै अन्य समस्या पनि शुरु भयो । खाना खान मन नलाग्ने, टोलाउने, अरुसँग रिस उठ्नेजस्ता समस्या भएका छन् ।” नेपालमा गत चैतदेखि बन्दाबन्दी भएको हो ।

बन्दाबन्दीपछि नेपालको सामाजिक र आर्थिक क्षेत्रमा ठूलो क्षति पुगेको छ । सामाजिक र आर्थिक क्षेत्रमा परेको क्षतिको असर मानिसको मनसम्मै पुगेको छ । विदेश तथा भारतमा रहेका आफन्तको कमाइबाट घर चलेका कैलालीका केही परिवारमा मनोसामाजिक समस्या देखिन थालेको छ ।

कैलालीकै अर्की महिलालाई पनि मनोसमस्या शुरु भएको छ । दुई छोरा र श्रीमान् रोजगारीका सिलसिलामा भारतमा थिए । बन्दाबन्दी भएपछि तीनै जनाको रोजगारी गुम्यो । घरमा चुल्हो बल्न पनि मुश्किल भयो । निकै कष्ट झेलेका श्रीमान् भारतबाट घर फर्केपछि १४ दिन क्वारेन्टिनमा अलग्गै बस्नुभयो । “मलाई छिनछिनमा पसिना आउँछ, काम गर्ने जागर चल्दैन, एक्लै बोलिरहेको हुन्छु”, उहाँले भन्नुभयो, “ओहो चिन्ताले मानिसलाई बर्बाद पार्दोरहेछ, म दुब्लाएकी छु ।”

बन्दाबन्दीपछि गर्भवती तथा सुत्केरीले अझ बढी मानसिक तनाव झेले । कैलालीकी कामना बोहराले बन्दाबन्दीकै बीचमा बच्चा जन्माउनुभयो । गर्भावस्थामा उहाँलाई निकै तनाव भयो, जसले उहाँ कमजोर हुनुभएको छ । “भारतमा रहेका श्रीमान्को रोजगार गुमेको छ । मेरो बच्चा अहिले एक महिनाको छ”, कामनाले भन्नुभयो, “तीन दिनसम्म सुत्केरी ब्यथा लाग्यो, कोरोना सङ्क्रमणको डरले शुरुमा अस्पताल जान सकिएन । सुत्केरीपछि बढी रक्तश्राव भएपछि आफन्तले अस्पताल ल्याए, अनि बाचेँ ।” कामनाको शरीरमा डाक्टरले रगत कम भएकाले चढाउनुपर्ने बताएपनि आर्थिक समस्याले चढाउन सक्नुभएन ।

गर्भावस्थामा त्रासले सुत्नै नसकेको उहाँको अनुभव छ । “अहिले पनि मलाई निन्द्रा नलाग्ने समस्या छ, बच्चा सानो छ । गर्भावस्थामा पनि आर्थिक र मानसिक तनावले म खुशी रहन सकिनँ”, कामनाले भन्नुभयो, “अहिले बच्चा पनि कमजोर छ । म त राति निन्द्रामा पनि बर्बराउन थालेँ, छिमेकी स्वयंमसेविकालाई समस्या भनेपछि डाक्टरको सल्लाहनुसार औषधि खाइरहेकी छु ।”

टीकापुर नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता धनराज विक बन्दाबन्दीपछि कैलालीको टीकापुरका २५४ जनालाई मनोपरामर्श सेवा दिएको बताउनुहुन्छ । विकका अनुसार बन्दाबन्दीपछि मनोसमस्या देखिनेमा महिलाको सङ्ख्या बढी छ । मानसिक समस्या समयमै व्यवस्थापन गर्न नसके भविष्यमा सङ्कट निम्तने देखिन्छ ।

“मनोसमस्या देखिनेमा धेरै वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्य, विदेश तथा भारतबाट फर्केर रोजगारी गुमेका नागरिक, गर्भवती, बच्चाका आमाहरु छन्”, मनोसामाजिक परामर्शकर्ता विक भन्नुहुन्छ, “किशोर किशोरीमा पनि मनोसमस्या देखिएको छ । लामो समय विद्यालय नचल्दा विद्यार्थीमा पनि गलत विचार आउनुले पछि मनोसमस्या हुनसक्छ ।”

मनोचिकित्सक डाक्टर मोहन बेल्वासे कोरोना सङ्क्रमण बढेपछि मनोसामाजिक समस्या बढेको बताउनुहुन्छ । उहाँ मानसिक समस्याको समयमै उपचार गरिएन भने पछि जटिलता आउने भएकाले समयमै उपचार गर्नुपर्ने बताउनुहुन्छ । “बन्दाबन्दीपछि बिरामी दोब्बरले बढेका छन् । मानिसको जीवनमा सामान्य परिवर्तन आयो, अप्ठ्यारो महसुस भए तुरुन्त चिकित्सकको सम्पर्कमा जानुपर्छ”, मनोचिकित्सक डा बेल्वासे भन्नुहुन्छ, “मन नै सबैभन्दा ठूलो कुरा हो ।

यही मनले अपराध गर्छ भने यही मनले माया र सद्भाव बाँडेको हुन्छ, त्यसैले मनमा गलत विचार र गलत सोँच आउन दिनुहुँदैन ।” डा. बेल्वासेले तनाव र समस्यालाई सामान्यरुपले व्यवस्थापन गर्ने बाटो खोज्न परिवार, समाजका साथ चाहिने र समस्या भएकालाई समयमै उपचार सेवा दिनुपर्ने सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *