आर्थिक

काठमाडौं–रक्सौल विद्युतीय रेलमार्गको डीपीआर तयार गर्न भारतीय कम्पनीलाई अनुमति

हिमालय टिभी
२०७७ मंसिर २२ गते ७:३३
काठमाडौं–रक्सौल विद्युतीय रेलमार्गको डीपीआर तयार गर्न भारतीय कम्पनीलाई अनुमति

२२ मंसिर, २०७७ काठमाडौं । सरकारले काठमाडौं-रक्सौल विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि भारतको कोङकर्ण रेल्वे कर्पोरेसन लिमिटेडलाई अनुमति दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले काठमाडौं–रक्सौल अन्तरदेशीय रेलमार्ग निर्माण तथा सञ्चालन गर्न डीपीआर तयार गर्न भारत सरकारको स्वामित्वमा रहेको कोङकर्ण रेल्वे कर्पोरेसनलाई अनुमति प्रदान गरिएको जानकारी दिनुभयो ।

रेलमार्ग निर्माणको डीपीआर तथा निर्माण कार्य अगाडि बढाउन भारतले गएको भदौमा नेपाल सरकारसँग औपचारिक अनुमति मागेको थियो । रेलमार्गको डीपीआरसहित सम्पूर्ण निर्माण कार्य शुरु गर्नुअघि भारतद्वारा पठाइएको पत्रमा सरकारले आफ्नो रायसहित निर्माण कार्य अगाडि बढाउन स्वीकृति प्रदान गरेको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले अर्थ मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको राय सुझावसहित सहमति लिई डीपीआरसहित निर्माण कार्य अगाडि बढाउन अनुमति प्रदान गरिएको पत्र भारतलाई पठाइसकिएको जानकारी दिनुभयो ।

कोङकर्ण रेल्वे कर्पोरेसनले यसअघि नै सो रेलमार्गको प्रारम्भिक अध्ययन गरी सोको प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको थियो । २ हजार ७६ भदौ १८ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सो अध्ययनको प्रस्तुतिसमेत गरिएको थियो ।

प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार भारतको रक्सौलबाट नेपालको वीरगञ्ज सुक्खा बन्दरगाह हुँदै आउने यो रेलमार्ग बाराको जितपुर-निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएर काठमाडौं आउने बताइएको छ । १ सय ३६ किलोमिटर कूल लम्बाई रहने यस रेलमार्गमा ४२ किलोमिटर सुरुङमार्ग रहनेछ । तस्वीरः सामाजिक सञ्जाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *