खाग तस्कर यसरी पर्‍यो प्रहरीको घेरामा (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २२ गते ६:११
खाग तस्कर यसरी पर्‍यो प्रहरीको घेरामा (भिडियोसहित)

२२ मंसिर, २०७७, बुटवल । विश्वमै दुर्लभ एक सिंगे गैंडाको नेपालमा चोरी शिकारी बढिरहेका बेला बुटवलमा तस्करहरू पक्राउ परेका छन् । उनीहरूको साथबाट गैंडाको खाग बरामद भएको छ । बुटवलमा तस्करलाई नियन्त्रणमा लिँदा गोली नै चलेको छ । एक जना घाइते भएका छन् । २ जना पक्राउ परे र एक जना प्रहरीकै घेरबाट भाग्न सफल भए ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका सुख्खानगरमा रहेको न्यू कलश रेष्टुरेन्ट एण्ड गेष्ट हाउसमा शनिबार साँझ ४ जना युवा बास बस्न आए । सामान्य देखिने चार जना हिंड्दै आएर होटलको एउटा कोठा बुक गरे ।

साँझपख खाना र रक्सी खाएर त्यही होटलमा बसे । बिहानपख ४ जना चिया खानसँगै होटलको रेष्टुरेन्टमा आए । चिया खाएपछि उनीहरु आफ्नो कोठामा जाँदा खानाको अर्डर पनि गरे । ९ बज्न लाग्दा एक्कासी कोठाको ढोका फोडेको आवाज आयो । होटल सञ्चालक पुग्न लाग्दा गोली चलेको आवाज आयो । त्यहा पुग्दा एक जना गोली लागेर ढलेको अवस्था थियो भने २ जना भाग्नको लागि होटलको पूर्वपट्टिको बार्दलीबाट झर्दै थिए ।

गेष्ट हाउसमा शंकास्पद व्यक्ति बस्न आएको प्रहरीले सुराकी पाइसकेको थियो । खाग नै छ भन्ने एकिन थिएन । रातभर होटलमा बसेका एकजना सम्भवतः खाग बोकेर काठमाडौं जाने योजनामा थिए । तर उनीहरु निस्कन नपाउँदै सादा पोशाकका दुई जना प्रहरी उनीहरु सुतेको ढोका ढकढकाउन पुगे । अनि बाहिरबाट चुकुल लगाइ दिए। कर्मचारीले थप जनशक्ति मगाउँदै गर्दा उनीहरुले ढोका तोडेर भाग्न खोज्दा प्रहरीसँग धकेलाधकेल भयो ।

प्रहरीबाट हतियार खोसेर प्रहरीलाई नै हान्दा तस्कर समूहका काठमाडौं बसन्तपुरका राकेश न्यौपानेको चिउडोमा गोली लाग्यो । उनी होटलको गल्लीमै ढले । न्यौपानेको भैरहवाको यूनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले प्रहरीको पेस्तोल खोसेर गोली चलाउन खोज्दा न्यौपाने घाइते भएको जानकारी दिनुभयो । तस्कर समूहका चारमध्ये सुर्खेत घर भएका भक्तबहादुर थापा र जाजरकोट घर भएका कर्णबहादुर रावतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

एक जना भने प्रहरीको घेरा तोडेर भागेका छन । धमाधम गैंडा मर्ने तर तस्करहरू उम्किरहने कारणले हैरान भएको प्रहरी बुटवलको घटनाले उत्साहित बनेको छ । प्रहरीले केही दिनअघि बुटवलबाटै चितुवाको छालासहित चार जनालाई पक्राउ गरेको थियो । शनिबार मात्रै ५ ट्रक गोरु प्रहरीले नियन्त्रणमा लिएको थियो । पछिल्लो समयमा बुटवलमा तस्करी बढ्दै गएको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *