निजी वनप्रति आकर्षण बढ्दो, खेतबारीमै रुख रोप्न थालियो (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २१ गते १८:१०
निजी वनप्रति आकर्षण बढ्दो, खेतबारीमै रुख रोप्न थालियो (भिडियोसहित)

२१ मंसिर, २०७७ बाँके । बाँकेमा निजी वनप्रति आकर्षण बढ्दै गएको छ । कम मेहनतमा अन्य खेतीभन्दा धेरै आम्दानी हुने भएपछि रुख खेतीतर्फ आकर्षण बढ्दै गएको हो । खोला तथा नदी किनारमा रुख रोप्दै आएका किसानले पछिल्ला दिनमा उब्जनी कम हुने खेतबारीमा पनि रुख रोप्न थालेका छन् ।

सरकारले पछिल्ला वर्षमा खेतबारीमा रुख लगाउन किसान र व्यवसायीलाई प्रोत्साहित गर्दै आएको छ । वन कार्यालयले पनि असार– साउनमा देशैभर विभिन्न जातका रुखका विरुवा निःशुल्क वितरण गर्ने गरेको छ । डिभिजन वन कार्यालय बाँकेले वर्षेनी करिब ४ लाख विरुवा उत्पादन गरी रुख खेती गर्न इच्छुक किसानलाई दिँदै आएको छ ।

सरकारले २३ प्रजातिका रुख कटान गर्न र काठ दाउरा ओसारपसार गर्न वन कार्यालयबाट कटान आदेश र छुटपुर्जी लिनु नपर्ने कानूनी व्यवस्था गरेपछि रुख खेती फस्टाएको छ । तर अझै पनि काठ तथा दाउरा ओसारपसार गर्दा दुःख दिने क्रम नरोकिएको गुनाासो पनि उत्तिकै छ ।

खाद्यान्न ,तरकारी र फलफूल खेतीजस्तै पछिल्ला दिनमा रुख लगाउने किसान र व्यवसायी बढ्दै गएका छन् । डिभिजन वन कार्यालय बाँकेमा १ सय २४ जनाले निजी वन दर्ता गराएका छन् । वन कार्यालयको रेकर्डमा ७१ हेक्टर क्षेत्रमा रुख लगाइएको देखिए पनि खेतबारीमा रुख लगाउनेको संख्या वर्षेनी बढ्दै गएको छ ।

रुख खेतीमा धान, गहुँ, तरकारी जस्ता बालीमा जस्तो बढी मेहनत गर्नु पर्दैन । रोग र किराले नोक्सान गर्ने सम्भावना कम हुन्छ । मुनाफा भने निक्कै बढी छ । त्यसका लागि रुख रोपेको ७ देखि १० बर्ष पर्खनुपर्छ ।

युवाको ठूलो संख्या विदेश पलायन भएकाले खेतीपाती गर्ने जनशक्ति नहुँदा खेतबारी बाँझै राख्नुपर्ने बाध्यता छ । त्यसैले किसानले पनि खेतबारीमा रुख रोप्न लागेका हुन् । माग अनुसार काठ स्वदेशमा उपलब्ध नहुँदा नेपालका प्लाइउड कारखानाले ठुलो परिमाणमा कच्चा पदार्थ भारतबाट ल्याउँदै आएका छन् । त्यसैले पनि संघीय र प्रदेश सरकारले रुख खेतीलाई व्यवसायिक रुपमा अगाडि बढाउन प्रोत्साहित गर्ने नीति र कार्यक्रम संचालन गर्दै आएका छन् ।

यसरी व्यावसायिक रुपमा रुख खेती फस्टाउँदै गए खेती गर्ने किसानसँगै नेपाली उद्यमी व्यवसायी लाभान्वित हुने र बैदेशिक घाटा कम गर्न समेत सहयोग पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *