Main News

नेपालको नयाँ परराष्ट्र नीति– ‘सबैसँग मित्रता कसैसँग छैन शत्रुता’ (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २१ गते १७:५२
नेपालको नयाँ परराष्ट्र नीति– ‘सबैसँग मित्रता कसैसँग छैन शत्रुता’ (भिडियोसहित)

२१ मंसिर, २०७७ काठमाडौं । सरकारले एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गर्नु भएको हो ।

कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले कोही शत्रुता नभई सबै मित्रता हुनेगरी परराष्ट्र नीति अवलम्बन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘यो सरकार आइसकेपछि मन्त्र जस्तै बनायौं । ‘सबैसँग मित्रता कसैसँग छैन शत्रुता’ भन्ने कुरालाई हामीले मन्त्र जस्तै बनायौं ।’

संसारमा राजनीति, शक्ति र व्यवस्थाका हिसाबले भिन्दाभिन्दै प्रणालीहरु रहेको भए पनि नेपालको परराष्ट्र नीति तर्जुमा गर्दा निश्चित विचारधारा र राजनीतिक प्रणालीलाई आधार बनाइएको स्पष्ट पार्नुभयो ।

कुनै पनि देशसँग नजिकको वा टाढाको भनेर कूटनीतिक व्यवहारमा फरक पार्न नखोजिएको पनि मन्त्री ज्ञवालीले बताउनुभयो । परराष्ट्र नीतिले आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय क्षेत्रीय मञ्चमा नेपालको स्थानलगायतका विषयमा समेत जोड दिएको मन्त्री ज्ञवालीले बताउनुभयो ।

स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको सञ्जालबाट सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित बाह्य सम्बन्ध सुदृढ गर्दै समग्र राष्ट्रिय हितको सम्बर्द्धन र प्रवर्द्धन गर्ने लक्ष्य परराष्ट्र नीतिले लिएको छ ।

छिमेकीलगायत सबै मुलुकसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ गरिने पनि परराष्ट्र नीतिमा उल्लेख छ । यस्तै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवर्द्धन गर्ने विषयलाई समेत समावेश गरिएको छ ।

विदेशमा पेशा, व्यवसाय र रोजगारीमा संलग्न नेपाली समुदाय र कानूनी व्यक्तिको हितको संरक्षण गर्ने विषय पनि परराष्ट्र नीतिमा समावेश गरिएको मन्त्री ज्ञवालीले बताउनुभयो । उहाँले नेपालले लामो समयदेखि अपनाउँदै आएको असंलग्न नीतिलाई निरन्तरता दिनेसमेत प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *