आर्थिक

नगद लेनदेन घट्दै: ३ महिनामा ६३ खर्बको विद्युतीय कारोबार (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २० गते २०:५१
नगद लेनदेन घट्दै: ३ महिनामा ६३ खर्बको विद्युतीय कारोबार (भिडियोसहित)

२० मंसिर, २०७७ काठमाडौं । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि भएको देखाएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै ६३ खर्ब रुपैयाँ बराबरको विद्युतीय कारोबार भएको छ । यसले नगदको कारोबार घट्दै गएको र विद्युतीय कारोबारतर्फ सेवाग्राहीको आकर्षण बढ्दै गएको देखिन्छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको देशको आर्थिक तथा वित्तिय स्थिति प्रतिवेदनले विद्युतीय कारोबार उल्लेख्य बढेको देखाएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९ करोड ३ लाख ६० हजार ९ सय ८८ वटा विद्युतीय कारोबार भएको छ ।

यसमार्फत ६३ खर्ब ८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको हो । पहिलो तीन महिनामा ३४ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको आरटिजिएस कारोबार भएको छ । यो अवधिमा एटिएममार्फत १ खर्ब १७ अर्ब रुपैयाँ र आइपिएसबाट ५ खर्ब ४३ अर्ब रुपैयाँको कारोबार भएको छ । यस्तै कनेक्ट आइपिएसबाट १ खर्ब ९८ अर्ब रुपैयाँको कारोबार भएको छ ।

डेविट कार्डमार्फत १ खर्ब २४ अर्ब रुपैयाँको तथा क्रेडिट कार्डमार्फत १ अर्ब ८७ करोडको कारोबार भएको छ । १४ करोड रुपैयाँको कारोबारमा भने प्रिपेड कार्डको प्रयोग भएको छ । इन्टनेट बैंकिङबाट १४ अर्ब र मोबाइल बैंकिङमार्फत ६७ अर्ब रुपैयाँको कारोबार भएको छ । मोबाइल वालेटको प्रयोग गरी २४ अर्बको कारोबार भएको छ भने क्युआर कोडमार्फत २ अर्ब रुपैयाँ भुक्तानी गरिएको छ ।

यस्तै कार्डको प्रयोग गरी अनलाइनमार्फत २ अर्ब रुपैयाँको इ(कर्मस भुक्तानी भएको राष्ट्र बैंकले उल्लेख गरेको छ । राष्ट्र बैंकले गत चैतबाट मात्रै विद्युतीय कारोबारको अभिलेख राख्ने गरेकाले त्यसअघिको कारोबारको विवरण उपलब्ध छैन् ।

तर तीन महिनामै भएको विद्युतीय कारोबारको यो आँकडा भने उल्लेखनीय हो । राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्रोत्साहनको नीति लिए पनि कोरोना महामारीअघि सीमित मात्रामा मात्रै विद्युतीय कारोबार हुने गरेको थियो ।

तर कोरोना महामारीसँगैको लकडाउन र निषेधाज्ञाले विद्युतीय कारोबारलाई बढाउन सघाएको छ । लकडाउनमा लामो समयसम्म बैंक बन्द रहे । त्यसपछि खुलेका बैंकमा पनि कोरोना संक्रमणको जोखिमका कारण बैंकका शाखामै पुगेर कारोबार गर्ने घटे ।

लकडाउन अवधिभर बैंकले कारोबारमा प्रोत्साहन गरे । अन्तर बैंक एटीएम प्रयोगमा शूल्क नलाग्ने व्यवस्था गरिएको थियो भने विद्युतीय कारोबारमा पैसा नलाग्ने व्यवस्था थियो । यी व्यवस्थाले विद्युतीय कारोबार बढ्न सघाए ।

यसले सरल र सस्तो बनाउँदा विद्युतीय कारोबार बढ्ने र नोटको प्रयोगसँगै बैंकका शाखामा सेवाग्राहीको भ‍ीड कमहुँदै जाने देखिएको छ । तर लकडाउनका क्रममा हटाइएको शूल्क बैंकको नाफामा असर गर्ने भन्दै अहिले फेरि असुल्न थालिएको छ । यसले विस्तारै बिस्तारै विद्युतीय कारोबारतर्फ आकर्षित भएको जमातलाई निरुत्साहित गर्ने जोखिम बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *