मिलेमतोमा विद्यालयको जग्गा विक्री,स्थानीय विरोधमा उत्रिए (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २० गते २०:४०
मिलेमतोमा विद्यालयको जग्गा विक्री,स्थानीय विरोधमा उत्रिए (भिडियोसहित)

२० मंसिर, २०७७ बुटवल । सार्वजनिक जग्गा संरक्षण गर्ने मुख्य दायित्व स्थानीय सरकार तथा जनप्रतिनिधिको हो । तर बुटवल उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष सन्तबहादुर रानाको अगुवाइमा स्कुलको जग्गा नै बेचिएको स्थानीय बासिन्दाको आरोप छ ।

यो माग र यो आक्रोशको कारण हो, बुटवल उपमहानगरपालिका वडा नम्बर १७ रानीगंजमा रहेको जनशक्ति नमूना भीमप्रसाद गोमाता न्यौपाने प्राविको जग्गा । विद्यालय व्यवस्थापन समितिको बैठक बसेर २०७४ साल फागुन ६ गते यो जग्गा हरिलाल न्यौपानेलाई बेचिएको थियो । न्यौपानेले त्यो जग्गामा घर ठड्याइसक्नु भएको छ । विद्यालयको जग्गामा व्यक्तिले घर बनाउन जग खनेको देखेपछि स्थानीय बासिन्दाले त्यतिबेला विरोध गरेका थिए ।

तर कुनै सुनुवाई भएको छैन । अहिले पछि जग्गा बेचेको विरोध गर्नेविरुद्ध जग्गा किन्ने हरिलाल न्यौपानेले मुद्दा हालेको स्थाानीय बासिन्दाको आरोप छ।

सामुदायिक विद्यालयको प्रमुख संरक्षकमा सोही वडाका अध्यक्ष हुनुपर्ने व्यवस्था छ । साथमा आफ्नो वडाको सार्वजनिक जग्गाको संरक्षणको मुख्य दायित्व पनि वडा अध्यक्षको हुन्छ । विद्यालय व्यवस्थापन समितिको बैठक बस्दा वडा अध्यक्षको पनि जग्गा बेच्न सहमति भएको प्रष्ट देखिन्छ । वडाध्यक्ष सन्तबहादुर राना पनि आफू रोहबर बसेको स्वीकार्नु हुन्छ ।

विद्यालयलाई आर्थिक श्रोतको अभाव भएपछि १० लाख ५० हजारमा जग्गा बेचेको प्राधानाध्यापक कल्पना भण्डारी बताउनुहुन्छ । तर यसरी जग्गा बेच्ने काम गलत भएको उहाँले पनि स्वीकार गर्नुभएको छ ।

विद्यालयको जग्गा व्यक्तिलाई बेचिएको छ । र त्यसमा विद्यालयसँगै सार्वजनिक जग्गाको संरक्षण गर्ने अधिकार पाएका जनप्रनिनिधिको पनि सहमति र संलग्नता छ । त्यसैले सम्बन्धित निकायले यसको छानविन गरी दोषिलाई कारबाही गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *