Main News

‘हचुवामा दरबन्दी सिर्जना गर्दा प्रहरी संगठनमा समस्या’ (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १८ गते २०:२५
‘हचुवामा दरबन्दी सिर्जना गर्दा प्रहरी संगठनमा समस्या’ (भिडियोसहित)

१८ मंसिर, २०७७ काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट सोझै एआईजीको दरबन्दी सिर्जना गरिएपछि शुरु भएको चर्चा अझै सेलाएको छैन । यसमा गृहमन्त्रालय र स्वयम प्रहरी प्रधान कार्यालयले नै असन्तुष्टि जनाएको खबर पनि आइरहेका छन् ।

एआईजीको संख्या धेरै भयो भनेर घटाएको सरकारले मन्त्रिपरिषदबाट सोझै दरबन्दी थप गर्दा प्रहरी सेवामा पनि असन्तुष्टि बढेको छ । नेपाल प्रहरीका अवकास प्राप्त अधिकारीले पनि यस्ता कामले संगठनमा नकारात्मक असर पर्ने बताएका छन् ।

मंसिर १५ गते गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वको बढुवा समितिले डीआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गर्यो । नेपाल प्रहरीमा थपिएको एउटा दरबन्दीमा गृहले पोखरेललाई सिफारिस गरेको हो । तर एआईजीको दरबन्दी एकाएक थपिएकोमा प्रहरी संगठनभित्रै असन्तुष्टिका स्वर सुनिए ।

हचुवाका भरमा दरबन्दी घटाउने र बढाउने गर्दा प्रहरी अधिकारीको मनोबल गिर्ने चिन्ता व्यक्त भेरहेको छ । व्यावसायिक गुणस्तर बढाउन गरिनुपर्ने ओएन्डएम सर्भे राजनीतिक दलको मनमर्जीका आधारमा हुँदा संगठनमा नकारात्मक असर पर्ने प्रहरीका अवकाशप्राप्त उच्च अधिकारीको टिप्पणी छ ।

तर नेपाल प्रहरीको इतिहास हेर्ने हो भने आफ्ना मान्छेलाई माथि पुर्याउन र लाइन क्लियर पार्न आफूले चाहेको अवस्थामा दरबन्दी थपिएका र घटाइएका धेरै उदाहरण छन् । र, यो निरन्तर चलिरहेको छ । यसले काम गरेर भन्दा पनि नेताका घरघर धाएरै दरबन्दी बढाउने र आफ्नो बढुवा गराउन सक्ने गलत प्रवृत्तिको विकास हुने प्रहरीका पूर्व अधिकारीको चिन्ता छ ।

असन्तुष्टि दरबन्दी थपिएकोमा मात्र छैन । सिफारिसमा पनि छ । एआईजीका लागि अरु पनि दाबेदार थिए । तर एउटा दरबन्दी सिर्जना गरेर पोखरेलको सिफारिस भयो । यस्तो एकल बढुवाले अरुको कार्यसम्पादनसमेत खस्किन सक्ने चिन्ता व्यक्त भैरहेको छ ।

पोखरेल प्रहरी निरीक्षक, डीएसपी र एसपी हुँदा वरियतामा अगाडि रहेको देखिन्न, तर एसएसपीमा बढुवा हुँदा पाँचौं वरियताबाट सिधै एक नम्बरमा पारिएको थियो । र यो सबै राजनीतिक आडमा भएको देखिन्छ । अहिले पनि पोखरेललाइ भावी प्रहरी महानिरीक्षक बनाउन दरबन्दी थपिएको छ ।

अहिले एआईजीमा सिफारिस भएका पोखरेल भावी आईजीपीका एक्ला दाबेदार हुनुहुन्छ । किनकी अन्य तीन एआईजी आईजीपी शैलेश थापासँगै अवकासमा जानेछन् । पोखरेलका प्रतिस्पर्धी पछि परिसके । यसरी झण्डै डेढ वर्षअघिनै भावी आईजीपी पक्का भइसकेको छ । यसरी अगाडि नै आईजीपी निश्चित हुँदा स्वार्थ समूहले प्रशस्त खेल्न पाउने र संगठनको छवि कमजोर हुने प्रहरीका कतिपय पूर्व अधिकारीको चिन्ता छ ।

केहीको भने यसमा अलिक फरक राय छ । अनुभवले खारिएको व्यक्ति आईजीपी बन्दा संगठनको छवि राम्रो हुन्छ । व्यवस्थापन पनि राम्रो हुन्छ । तर यसका लागि जस्केलाबाट होइन तल्लो तहदेखिनै सही मान्छेलाई माथि लाने परिपाटी बसाउन उनीहरुको सुझाव छ ।

प्रहरीमा राजनीतिक हस्तक्षप निकै छ र यो बढ्दो छ । गृहमन्त्रालयलाई बाईपास गरेर सरुवा बढुवा जस्ता संगठनभित्रका काम बालुवाटारबाट हुन थालेको गुनासो बढीरहेको छ ।

आफ्ना मान्छे पुर्याउने बहानामा हचुवाका भरमा दरबन्दी थप्ने र हटाउने अनि कनिष्ठलाई माथि लैजाने परिपाटीले प्रहरी सेवाप्रतिनै वितृष्णा आउने अवस्था बन्न सक्छ । सरोकारवालाले काम गर्नुभन्दा पहिले यसमा गम्भीर ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *