राजनीति

शासकीय असफलताको लाभ लिन खोज्दै राजावादी, फर्किएला त राजतन्त्र ?

हिमालय टिभी
२०७७ मंसिर १८ गते २०:१५
शासकीय असफलताको लाभ लिन खोज्दै राजावादी, फर्किएला त राजतन्त्र ?

१८ मंसिर, २०७७ काठमाडौं । केही दिनयता देशका प्रमुख शहरमा गणतन्त्र खारेज गर्दै राजतन्त्रात्मक हिन्दू राष्ट्र स्थापनाको माग गर्दै प्रदर्शन भइरहेका छन् । विभिन्न समूहका नाममा भइरहेका यस्ता प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ता खुलेर लागेका छन् । शासकीय असफलताले आम नागरिक निराश बनिरहेका बेला राजावादीले त्यसको फाइदा उठाउन प्रयास गरिरहेका छन् ।

२०६४ सालमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । मुलुकलाई धर्मनिरपेक्ष पनि घोषणा गरियो । त्यतिबेला सुषुप्त अवस्थामा रहेका राजतन्त्र र हिन्दू राष्ट्र पक्षधर अहिले सल्बलाउन थालेका छन् ।

पछिल्लो पटक उनीहरुले काठमाडौंसहित देशका मुख्य शहरमा प्रदर्शन गरिरहेका छन् । राजतन्त्रको अन्त्यपछि भएका निर्वाचनमा राजतन्त्र र हिन्दूराष्ट्रको वकालत गर्ने दलहरुलाई जनताले नकारेका छन् । हिजो रसातलमा पुगेका शक्ति पछिल्लो पटक टाउको उठाउने प्रयासमा छन् ।

सत्ताधारी दलको किचलो र प्रतिपक्षीको निस्क्रियताले आम नागरिकमा छाएको नैरास्यताबाट राजावादीले फाइदा उठाउन खाजिरहेको देखिन्छ । शासकीय असक्षमताले यस्ता शक्तिलाई नै बल पुर्याइरहेको छ ।

१० वर्षे माओवादी सशस्त्र युद्ध र १९ दिने जनआन्दोलनको बलमा २ सय ३८ वर्षीय जहाँनिया राजतन्त्रलाई विदाई गर्दै मुलुकमा गणतन्त्र स्थापना भयो । त्यसका लागि ठुलो त्याग, तपस्या र बलिदान भएको छ । तर गणतन्त्रवादी शक्तिले आशातित काम गर्न नसक्दा आम नागरिकमा दिनदिनै निराशा बढिरहेको छ । यस्तोमा पुनः राजतन्त्र फर्किने संभावना छ त ?

सरकार काम नगरी ठुलाठुला गफ मात्रै हाँकेर बसिरहेको छ । सत्तारुढ दलमा आन्तरिक कलह उत्कर्षमा छ । प्रतिपक्षी नेपाली कांग्रेस पनि अकर्मण्य जस्तै देखिन्छ ।

यही तरल राजनीतिको फाइदा उठाउन प्रतिगमनकारी शक्ति सलबलाइरहेका छन् । लोकतन्त्र यस्तो व्यवस्था हो जसबाट असक्षम दललाई आम जनताले चुनावबाट ठेगान लगाउँछन् । तर कुनै दल वा नेताको कामका कारण व्यवस्थाप्रति नै प्रश्न उठाउनु जायज छैन । लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो । जहाँनिया तानाशाही व्यवस्था होइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्