आर्थिक

करको भार हटाउन सरकारसँग उद्योगीको माग (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १७ गते १९:५४
करको भार हटाउन सरकारसँग उद्योगीको माग (भिडियोसहित)

१७ मंसिर, २०७७ काठमाडौं । नयाँ नेतृत्व आएसँगै अहिले उद्योग वाणिज्य महासंघको सक्रियता बढेको छ । महासंघले अहिले दैनिकजसो नै केही न केही धारणा सार्वजनिक गरिरहेको छ । यहीक्रममा आज महासंघका पदाधिकारीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलाई भेटेर दोहोरो तेहेरो कर खारेज गर्न माग गरेको छ ।

संघीयता लागू कार्यान्वयनदेखि नै निजी क्षेत्रले सबैभन्दा धेरै उठाएको मुद्दा हो, कर । तीन तहको सरकारले विभिन्न शीर्षकमा एक(पछि अर्को कर असुल्दा मारमा पर्दै आएको निजी क्षेत्रको गुनासो छ ।

समस्या समाधान गरिदिन पूर्व अर्थमन्त्री डा. युवराज खतिवडासमक्ष पटकपटक माग गर्दासमेत सुनुवाई नभएपछि निजी क्षेत्रले यो विषय उठाउनै छाडेको थियो । तर निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व आएसँगै पुरानो माग दोहोर्याएको छ ।

महासंघको नयाँ नेतृत्वले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेरै यस्तो व्यवस्था हटाउन माग गरेको छ । दोहोरो तेहेरो करले लगानीको वातावरण बिग्रेको उसको तर्क छ ।

वातावरण, जग्गा प्राप्ति, श्रमसम्बन्धि कानून र तेहोरो करका कारण निजी क्षेत्रको मनोबल खस्किएकाले कानूनी सहजता र कर खारेजीको माग महासंघको छ । कोभिडका कारण साना तथा मझौला व्यवसाय बन्द हुने अवस्थामा पुगेको र रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउन पनि सरकारसँग उसले माग गरेको छ ।

महासंघको माग सुनेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको महत्व राम्रोसँग बुझेको भन्दै सरकारले उपेक्षा नगर्ने आश्वासन दिनुभयो । यस्तै निजी क्षेत्रलाई नसमेटी उत्पादन, रोजगारी र आर्थिक वृद्धि सम्भव नभएकाले योजना निर्माणमा पनि सहभागी गराउने बताउनुभयो ।

अर्थमन्त्रीले निजी क्षेत्रलाई आश्वासन त दिनुभएको छ । तर संघीयतासँग जोडिएको कर जस्तो संवेदनशील मुद्दालाई कसरी सम्बोधन गर्नुहुन्छ, त्यो भने जस्तो सहज विषय पक्कै होईन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *