Main News

कोरोना जोखिमबीच सतर्कतासहित प्रत्यक्ष कक्षा सञ्चालन गर्ने त्रिविको तयारी

हिमालय टिभी
२०७७ मंसिर १७ गते ७:५७
कोरोना जोखिमबीच सतर्कतासहित प्रत्यक्ष कक्षा सञ्चालन गर्ने त्रिविको तयारी

१७ मंसिर, २०७७ काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कोरोना जोखिमबीच पनि सतर्कता अपनाएर प्रत्यक्ष कक्षा सञ्चालन हुने भएको छ ।

त्रिवि कार्यकारी परिषद् बैठकले स्वास्थ्य मापदण्ड पूरा गरेर सम्भव भएसम्मका शैक्षिक संस्थामा प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । प्रत्यक्ष सम्भव नभएका ठाउँमा अनलाइन कक्षालाई निरन्तरता दिइनेछ ।

कोरोना महामारीका कारण गत चैतदेखि शैक्षिक संस्था बन्द छन् । लकडाउन शुरु भएको केही समयपछि अनलाइन कक्षा सञ्चालनमा ल्याइएको थियो ।

तर, अनलाइन कक्षामा माथिल्लो तह र प्राविधिक विषयमा विद्यार्थीको उपस्थिति राम्रो भए पनि स्नातक तहका गैरप्राविधिक विषयमा सहभागिता न्यून छ। तल्लो तहका अधिकांश विद्यार्थीको अवस्था पहिचान हुन सकेको थिएन ।

स्थानीय निकायसँग समन्वय गरी कोरोना जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अपनाएर प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय गरिएको त्रिविका शिक्षाध्यक्ष प्रध्यापक डा शिवलाल भुसालले जानकारी दिनुभयो ।

त्रिविले सम्भव भएसम्म प्रत्यक्ष र नभए मात्र वैकल्पिक विधि प्रयोग गरी नियमित कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । प्रत्यक्ष कक्षा सञ्चालन नहुँदा विपन्न परिवार र इन्टरनेटको पहुँच नभएका समुदायका विद्यार्थी पठनपाठनबाट वञ्चित थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *