आर्थिक

रेमिट्यान्स घटे अर्थतन्त्र जटिल माेडमा पुग्छ: निजी क्षेत्र

हिमालय टिभी
२०७७ मंसिर १६ गते २०:२९
रेमिट्यान्स घटे अर्थतन्त्र जटिल माेडमा पुग्छ: निजी क्षेत्र

१६ मंसिर, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वले रेमिट्यान्स घटे अर्थतन्त्र जटिल मोडमा पुग्ने भन्दै तत्काल नीतिगत परिवर्तनमा जोड दिएको छ । रेमिट्यान्सले धानेको अर्थतन्त्र जोगाउन निर्यात नबढाइ नहुने अवस्था रहेको भन्दै निजी क्षेत्रको सबैभन्दा ठूलो संगठनले ठोस नीतिगत सुधारका लागि पहल गर्नुपर्ने बताएको हो ।

कोरोना महामारीका माझ रेमिट्यान्स घट्ने सरकारकै विश्लेषण थियो । तर सरकारको अनुमान विपरीत रेमिट्यान्स बढिरहेको छ । रेमिट्यान्ससहित बाह्य क्षेत्र सकारात्मक रहेकाले सरकारले कुनै दबाब महशुस गरेको छैन् । तर निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघले भने तत्काल नीतिगत सुधार नगरिए अर्थतन्त्र संकटमा पर्ने धारणा सार्वजनिक गरेको छ । महासंघका नयाँ अध्यक्ष शेखर गोल्छाका अनुसार मुलुक रेमिट्यान्सले धानेको अर्थतन्त्र जोगाउन निर्यात नबढाइ नहुने अवस्थामा छ ।

मुलुकको अर्थतन्त्र आयातमुखी रहेकाले रेमिट्यान्स घट्ने बित्तिक्कै आर्थिक संकटमा धकेलिने गोल्छाको विश्लेषण छ । गोल्छाको मात्र हैन्, महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको समेत राज्यको नीतिकै कारण आयात उकालो र निर्यात ओरालो लागेको बुझाई छ । त्यसैले अब निजी क्षेत्रले सक्रियरुपमा राज्यको नीति फेर्न लाग्नुपर्नेमा ढकालको जोड छ ।

लगानी र लागत उच्च हुनु र स्वदेशी उत्पादकलाई दिइने सहुलियत निकै कम भएकै कारण निर्यात बढ्न नसकेको महासंघको ठहर छ । त्यसैले अबको रणनीतिसहितको दृष्टिकोण सरकारसमक्ष पेश गर्ने महासंघको तयारी छ ।

नेपालको आर्थिक विकास तथा समृद्धिको यात्रामा निजी क्षेत्रको ठूलो योगदान छ, यसलाई सरकारले स्वीकार पनि गरेको छ । त्यसैले निजी क्षेत्रले उठाउने मुद्दा र राख्ने अडानले मुलुकको समृद्धिमा महत्वपू्र्ण प्रभाव पार्नेछ । महासंघको नयाँ नेतृत्व यस्ता विषयमा कसरी अघि बढ्छ र मुलुकको अर्थतन्त्रको दिशा निर्धारणमा कस्तो भूमिका खेल्छ, त्यो भने आगामी दिनमा देखिनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *