Main News

कहाँबाट कहिले आयो एचआइभी ? अहिलेको अवस्था के छ ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १६ गते २०:२४
कहाँबाट कहिले आयो एचआइभी ? अहिलेको अवस्था के छ ? (भिडियोसहित)

१६ मंसिर, २०७७ काठमाडौं । एचआईभी/एड्स कुनै समय ठूलो महामारी मानिएको थियो । अहिलेसम्म यसबाट करोडौं संक्रमित भइसकेका छन् भने लाखौंको मृत्यु भएको छ । यो भाइरस कहाँबाट र कसरी सुरु भयो ?

एचआईभीको पूरा रुप ह्युमन इम्युनोडिफिसेन्सी भाइरस हो । यो यस्तो भाइरस हो, यसले मानिसको रोगप्रतिरोधी क्षमतामा आक्रमण गर्छ । एचआईभी–एड्स आफैंमा रोग भने होइन ।

यो भाइरस मानिसको रगत, र्‍याल, यौनांगबाट निस्किने तरल पदार्थ तथा आमाको दुधबाट सर्ने गर्छ । असुरक्षित यौन सम्पर्क, लागु औषध प्रयोगकर्ताले बाँड्ने सुई र संक्रमित आमाबाट जन्मने बच्चामा भाइरस सर्ने गरेको पाइएको छ ।

अध्ययनका अनुसार सन् १९५९ मा कंगोको किन्सासा भन्ने स्थानमा पहिलो पटक यो भाइरसको संक्रमण मानिसमा पुष्टि भएको थियो । तर, किन्सासामा पुष्टि भएको ४० वर्षअघि नै एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सरेको कतिपय वैज्ञानिकको पनि दाबी छ ।

किन्सासा कंगोको ब्यापारिक केन्द्र हो । जहाँ सडक, रेलमार्ग र जलमार्गको संजाल छ । सो स्थानमा यौन व्यवसाय पनि फस्टाउने क्रममा थियो । त्यहीँबाट एचआईभी संक्रमण भयावह बनेको वैज्ञानिकको निष्कर्ष छ ।

सन् १९८० को दशकमा यो अमेरिका लगायत विश्वका विभिन्न मुलुकमा महामारीका रुपमा देखा पर्‍यो ।

कतिपय अध्ययनमा एचआईभी सन् १९६० मा हाइटीबाट शुरु भएको पनि उल्लेख गरिएको छ । तर, त्यस समयमा हइटीका धेरै मानिस कंगोमा काम गर्न गएको र उनीहरुले नै आफ्नो देश फर्किँदा एचआईभीसँगै लगेको हुनसक्ने अनुमान पनि गरिएको छ ।

सन् १९९९ मा भएको एउटा अध्ययनका क्रममा वैज्ञानिकले चिम्पान्जी लगायत बाँदर प्रजातीमा यस्तै प्रकारको भाइरस भेटेका थिए । वैज्ञानिकको सोही समूहले कुनै समयमा चिम्पान्जीबाट यो भाइरस मानिसमा सरेको निष्कर्ष निकाल्यो । चिम्पान्जीको शिकार गर्दा उसको रगत मानिसको घाउमा परेको हुन सक्ने वा चिम्पान्जीको मासु खाएका कारण यो भाइरस मानवजातीमा सरेको वैज्ञानिकको निष्कर्ष थियो ।

चिम्पान्जीबाट मानिसमा सरेपछि मानव शरीरमा यसको विकास हुन थाल्यो । अहिले विश्वमा सात करोडभन्दा बढी मानिस एचआईभी संक्रमित भइसकेका छन् । यसबाट साढे नौ लाखको मृत्यु भइसकेको छ । कुनै समय ठुलो महामारी मानिएको एचआइभी अहिले भने मत्थर हुँदै गएको छ । शरीरको प्रतिरोधी क्षमता बढाउने औषधिको प्रयोगबाट संक्रमितले लामो समयसम्म सहज जीवनयापन गर्न थालेका छन् । जसका कारण यसबाट हुने मृत्युदर पनि निरन्तर घट्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *