राजनीति

सचिवालय बैठकमा ओली र प्रचण्डबीच यस्तो चर्काचर्की (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १६ गते २०:१२
सचिवालय बैठकमा ओली र प्रचण्डबीच यस्तो चर्काचर्की (भिडियोसहित)

१६ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका प्रस्तावमाथि छलफल शुरु भएको छ । तर प्रस्तावमाथि छलफल शुरु गर्ने कि नगर्ने भनेर दुई अध्यक्षबीच चर्को भनाभन भएको छ ।

ओलीले बैठकको औचित्य छैन भन्दै बैठक नबस्ने र बस्ने हो भने प्रचण्डले प्रस्ताव फिर्ता लिनुपर्ने अडान राखेपछि विवाद भएको हो । चर्को विवाद पछि शुरु भएको बैठकले प्रस्तावमाथि छलफल अघि बढाएको छ । बैठकको अन्तिममा अनौपचारिक संवाद पनि अघि बढाउने भन्दै नेताहरु उठेका छन् ।

महासचिव विष्णुप्रसाद पौडेलको जन्मदिन मनाउँदै गुलियो केक खाएर सत्तारुढ नेकपाको सचिवालय बैठक शुरु भयो, तर गुलियो केक खाएर थालिएको बैठक शुरुमै तीतो हुन पुग्यो । किनकी दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भनाभन भयो । विवाद हुनुको कारण थियो, सचिवालय बैठकको औचित्यमाथि ओलीको प्रश्न र त्यसमा प्रचण्डको प्रतिवाद ।

ओलीको प्रस्ताव– बैठक नबसौं औचित्य छैन
दुई अध्यक्षले एक अर्कालाई गम्भीर आरोप लगाउँदै पेश गरेका प्रस्तावमा छलफल गर्न बोलाइएको बैठकको शुरुमै अध्यक्ष ओलीले सचिवालय बैठकको औचित्य छैन नबसौं भन्नुभयो । प्रचण्डले पेश गरेको प्रस्ताव पूर्वाग्रहपूर्ण रहेको र त्यो आरोपपत्र फिर्ता हुनुपर्ने अडान राख्नुभयो त्यतिमात्रै होइन प्रचण्डले क्षमायाचनासहित प्रस्ताव फिर्ता नभएसम्म बैठक चल्न नदिने घोषणा गर्दै भन्नुभयो– म यो बैठक चल्न दिन्नँ ।’ ओलीले धेरैबेर यो विषयमा अडान लिनुभयो ।

जब प्रचण्डले ओलीको प्रतिवाद गर्दै भने–बैठक चल्न नदिने तपाइँ को ?
शुरुमै ओलीलाई बोल्नुस् भनेका प्रचण्डले ओलीबाट बैठक चल्न नदिने धारणा आएपछि कडा प्रतिवाद गर्नुभयो । एक नेताका अनुसार बैठक चल्न नदिने तपाइँ को हो भनेर प्रचण्डले ओलीलाई प्रश्न गर्नुभयो । प्रस्ताव र पत्र दुवै फिर्ता नहुने प्रष्ट पार्दै प्रचण्डले जे गर्छ त्यो बैठकले गर्छ भनेर जवाफ दिनुभयो ।

त्यतिमात्रै होइन, प्रचण्डले बोल्दाबोल्दै ओलीले सीमामा बसेर बोल्नुस भन्नुभयो । जवाफमा प्रचण्डले मलाई सीमामा बस्न भन्ने तपाइँ को हो भनेर प्रतिवाद गर्नुभयो । घोचपेच आरोपप्रत्यारोप चल्दाचल्दै प्रचण्डले बैठक नबस्ने र छलफल नगर्ने हो त भनेर अरु सचिवालय सदस्यलाई सोध्नुभयो । महासचिव विष्णुप्रसाद पौडेलबाहेक अरु सदस्यले छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिए । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमले तपाइँकै कारण पार्टीमा समस्या आएको र बैठक बस्न नदिएर के गर्न खोजेको भनेर समेत प्रश्न गर्नुभयो ।

ओलीको प्रस्ताव भदौ २६ को निर्णय मान्छु
ओलीले सचिवालय बैठक नबसौं भन्नुका पछाडि बैठक बाहिरबाट सहमति खोज्ने उद्देश्य छ । दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीमा लैजान नहुने पनि ओलीको प्रस्ताव छ । त्यसका लागि सहमतिको विन्दुका रुपमा ओलीले भदौ २६ को स्थायी कमिटी बैठकका निर्णय मान्छु त्यही गरौं भनेको सचिवालयका एक सदस्यले जानकारी दिए ।

भदौ २६ को निर्णयअनुसार आफूले सरकार हेर्ने र पार्टीको काम प्रचण्डले हेर्ने निर्णयमा फर्कनुपर्ने ओलीको प्रस्ताव छ । तर त्यही बैठकको सरकारका काम पार्टीको मार्गनिर्देशन अनुरूप हुने निर्णय ओलीले उल्लंघन गरिसकेकाले समस्या भएको प्रचण्ड–नेपाल पक्षको निष्कर्ष छ ।

दुवै प्रस्तावमा छलफल शुरु, अनौपचारिक संवाद पनि हुने
आरोप प्रत्यारोप र चर्का चर्काबीच ओली र प्रचण्डका दुवै प्रस्तावमाथि छलफल शुरु भएर बुधबार बस्ने गरी सचिवालय बैठक सकियो । तर बैठकमा छलफल र नेताहरुबीच अनौपचारिक रुपमा छुट्टै संवाद गर्ने सहमति पनि भयो । जुन चाहना ओलीको पनि थियो ।

यो बीचमा साझा प्रस्तावको समेत प्रयास हुने संकेत देखिएको छ र त्यो बैठकको क्षेत्राधिकार भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रचण्ड र ओलीले एक अर्कालाई गम्भीर आरोप लगाउँदै प्रस्ताव ल्याएपछि पार्टीभित्रको विवाद र नेतृत्वतहमा इगो कुन हदसम्म रहेछ भन्ने प्रष्टै भैसकेका छ । र, यसमा मंगलबारको आरोप प्रत्यारोप र भनाभनले थप असहज अवस्था सिर्जना गरेको छ । त्यसैले नेकपाको आगामी बैठक र यात्रा सहज छैन भन्ने प्रष्ट हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्