Main News

किन भयो चिनियाँ रक्षामन्त्रीको भ्रमण ? यसो भन्छन् विज्ञ (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १४ गते १९:५६
किन भयो चिनियाँ रक्षामन्त्रीको भ्रमण ? यसो भन्छन् विज्ञ (भिडियोसहित)

१४ मंसिर, २०७७ काठमाडौं । पछिल्लो समय भारतका विभिन्न अधिकारीहरु नेपाल भ्रमणमा आए र फर्किए । त्यसलगत्तै चीनका तर्फबाट पनि पनि उच्चस्तरीय भ्रमणको टुंगो लाग्यो । सोही क्रममा आइतबार चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर काठमाडौं आए र फर्किए । भारतका तर्फबाट पछिल्लो समय लगातार भइरहेका भ्रमणकै सेरोफेरोमा चिनियाँ रक्षामन्त्री नेपाल आउनुलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन् ।

नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठको अवसर पारेर चिनियाँ रक्षामन्त्री नेपाल आएको भनिएको छ । यसबाहेक नेपाल र चीनबीच पछिल्लो समय बढेको सैन्य सहकार्यलाई बलियो बनाउन विगतमा गरिएका द्विपक्षीय समझदारी कार्यान्वयनका लागि पनि यो भ्रमण गरिएको चिनियाँ पक्षको भनाई छ ।

तर कूटनीतिक क्षेत्रले भने भ्रमणलाई त्यतिमै सीमित मानेको छैन । पछिल्लो समय भारत र अन्य मुलुकको नेपालप्रतिको चासोलाई लिएर चीन संवेदनशील रहेकाले चिनियाँ रक्षामन्त्रीको भ्रमण भएको कूटनीतिज्ञको बुझाई छ ।

तर सुरक्षा मामिलाका जानकार भने चिनियाँ रक्षामन्त्रीको यो भ्रमण स्वाभाविक ठान्छन् । तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल चीन भ्रमणमा जाँदा समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । यसबाहेक विभिन्न सहकार्यको समझदारी पनि भएको थियो ।

जुन कोरोना लगायत विभिन्न कारणले कार्यान्वयन हुन सकेको छैन । सुरक्षा मामिलाका जानकारका अनुसार अहिले नेपाल चीन सम्बन्धको वर्षगाँठको अवसर पारेर ती सबै समझदारी कार्यान्वयनकै लागि भ्रमण भएको हो ।

चीन शक्ति राष्ट्र हो । र उ दक्षिण एसियामा प्रभाव जमाउन चाहन्छ । त्यसैका लागि पनि चीन नेपाल लगायतका देशसँग सम्बन्ध बढाउन चाहन्छ । विज्ञले चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई यसरी पनि हेरेका छन् ।

यति मात्र होइन विज्ञले भारत र अमेरिकाबीच हालै भएको रक्षा सम्झौता, नेपालमा अनुमोदन हुन बाँकी रहेको एमसीसी, इन्डोप्यासेफिक रणनीति र त्यसले नेपाललगायत दक्षिण एसियाली मुलुकमा पार्न सक्ने असरलाई लिएर पनि चीन सशंकित बनेको ठानेका छन् ।

त्यसो त धेरैले यो भ्रमणलाई नेपालमा बढिरहेको भूराजनीतिक प्रतिस्पर्धासँग पनि जोडेर हेर्नुपर्ने बताइरहेका छन्। त्यसैले दुई ठूला शक्तिराष्ट्रको बीचमा रहेको नेपालले आफूलाई समदूरीमा राखेर यस्ता भ्रमणलाई देशहित अनुकूल प्रयोग गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *