Main News

सरकारले ट्रान्सपरेन्सीको प्रतिवेदन अस्वीकार गर्‍यो, भन्छ–‘प्रतिवेदन सरकारविरोधी मिशन’ (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १४ गते १९:५२
सरकारले ट्रान्सपरेन्सीको प्रतिवेदन अस्वीकार गर्‍यो, भन्छ–‘प्रतिवेदन सरकारविरोधी मिशन’ (भिडियोसहित)

१४ मंसिर, २०७७ काठमाडौं । सरकारले नेपालमा भ्रष्टाचार बढेको ट्रान्सफरेन्सी इन्टरनेशनलको प्रतिवेदनलाई पूर्वाग्रहपूर्ण र आफुविरुद्धको अभियान भनेको छ । सरकारले प्रतिवेदनमाथि मात्र हैन्, ट्रान्सफरेन्सी नेपालका अध्यक्ष र सर्वेक्षणमा सहभागी नेपालीलाई समेत सरकारविरोधीको बिल्ला भिराएको छ ।

भ्रष्टाचारविरुद्ध काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले केही दिनअघि ग्लोबल करप्सन ब्यारोमिटर प्रतिवेदन सार्वजनिक गरेको थियो ।

एक हजार नेपालीमाथि गरिएको सर्वेक्षणका आधारमा तयार प्रतिवेदनले पछिल्लो एक वर्षमा नेपालमा भ्रष्टाचार बढेको र जनता आजित बनेको ‍देखाएको छ। सर्वेक्षणमा सहभागी ५८ प्रतिशत नेपालीले पहिलेभन्दा भ्रष्टाचार बढेको र ८४ प्रतिशतले त सरकारकै कारण भ्रष्टाचार बढेको मत जाहेर गरेका थिए ।

तर प्रतिवेदन यतिमा मात्र सीमित थिएन । प्रतिवेदनले प्रधानमन्त्री केपी शर्मा ओलीनै भ्रष्टाचारमा आरोपितको बचाउमा उत्रिने गरेको भनेर उहाँमाथि गम्भीर प्रश्न उठाएको थियो । यही प्रतिवेदनलाई आधार मानेर प्रमूख प्रतिपक्षी नेपाली काँग्रेसले समेत प्रश्न उठा‍एपछि सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको छ । र, सरकारले ट्रान्सपरेन्सीको प्रतिवेदनलाई अस्वीकार गरेको छ । प्रतिवेदन राजनैतिक पूर्वाग्रहले भरिएको र देशको छवि धमिल्याउने काम गरेको भन्दै सरकारले आक्रामक प्रतिक्रिया दिएको छ ।

सरकारले प्रतिवेदनलाई विरोधाषपूर्ण मात्र मानेको छैन्, ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपालका अध्यक्ष खेमराज रेग्मीको राजनैतिक आबद्धताबारे समेत प्रश्न उठाएको छ । एक वर्षअघि भ्रष्टाचारमा नेपालले निकै सुधार गरेको प्रतिवेदन दिने ट्रान्परेन्सीले एक वर्षमै फरक प्रतिवेदन सार्वजनिक गर्नु आपत्तिजनक भएको सरकारको धारणा छ ।

यतिमात्र हैन्, सरकारले सर्वेक्षणमा सहभागी १ हजार नेपालीलाई समेत सरकार विरोधी भनेको छ । सरकारका काम कारवाहीमा प्रश्न उठाउने आफ्नै नागरिक र ट्रान्सपरेन्सीविरुद्ध उत्रिएको सरकारले आफ्ना पक्षमा आएका केही अन्तर्राष्ट्रिय प्रतिवेदनलाई भने स्वीकार गरेको छ । र, त्यसलाई खण्डनको आधार बनाएको छ ।

विश्व सूचांकमा नेपालले प्रगति गरिरहेको र गत वर्ष इतिहासमै बढी भ्रष्टाचारका आरोपितलाई कारबाही गरिएको भन्दै सरकारले प्रतिवेदनलाई आफुविरुद्ध मिसन मानेको छ । भ्रष्टाचार नियन्त्रण गर्न आफू दृढ भन्दै सरकारले भड्काउमा नलाग्न समेत भनेको छ ।

एशियाका १७ देशमा गरिएको सर्वेक्षणमा २० हजार एशियाली सहभागी थिए । सरकारले अविश्वनीय र पूर्वाग्रह भनेपनि ट्रान्सपरेन्सीलाई अन्तर्राष्ट्रियरुपमै विश्वसनीय संस्थाकारुपमा लिइन्छ ।

यसले दिएका प्रतिवेदनले नेपालबारे अन्तर्राष्ट्रिय छवि बनाउने काम मात्र गर्दैन् नेपाललाई अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्धभावमा समेत प्रभाव पार्छ । आफूमाथि प्रश्न उठाउने सबैलाइ विरोधी करार गर्दा सरकारले यो पक्ष भनेको भूलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *