आर्थिक

आयात र निर्यातमा सामान्य सुधार (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १२ गते २०:५८
आयात र निर्यातमा सामान्य सुधार (भिडियोसहित)

१२ मंसिर, २०७७ काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा आयात र निर्यातमा सामान्य सुधार देखिएको छ । साउनदेखि कात्तिकसम्मको आयात १० प्रतिशतले घटेको छ ।

यस्तै निर्यात १० प्रतिशतले बढेको छ । वैदेशिक व्यापारमा ९ प्रतिशतको गिरावट आए पनि गत वर्षकै हाराहारीमा राजस्व संकलन भएको छ ।

भन्सार विभागले अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमा व्यापार घाटा १२ प्रतिशतले घटेको छ । गत वर्षको पहिलो चौमासिकमा ४ खर्ब १४ अर्ब रुपैयाँको व्यापार घाटा व्यहोरेको मुलुकले यसपाली ३ खर्ब ६२ अर्ब रुपैयाँ घाटा व्यहोरेको हो ।

यो अवधिमा ४ खर्ब २ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । यो गत वर्षको पहिलो चौमासिकको तुलनामा १२ प्रतिशतले कम हो । गत वर्षको साउनदेखि कात्तिकभित्रै ४ खर्ब ५० अर्ब रुपैयाँ बराबरको आयात भएको थियो । सवारीसाधन तथा पार्टपुर्जा, मेशिनरी वस्तु लगायतको आयात घटेको छ ।

आयात घटेर निर्यात केही बढेकाले ब्यापार घाटा घटेको हो । गत वर्षको पहिलो चौमासिकमा ३६ अर्बको निर्यात भएकोमा यो वर्ष ४० अर्ब रुपैयाँ पुगेको हो । पछिल्लो समय तेश्रो मुलुकबाट भटमासको तेल तथा कच्चा पदार्थ आयात गर्ने र भ्यालु एड तथा रिफाइन गरी भारत निर्यात हुने क्रम बढेको छ ।

यसैले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा निर्यात १४ प्रतिशतले बढाउन सघाएको हो । आयात र निर्यातमा आएको परिवर्तनका कारण वैदेशिक व्यापारमा ९ प्रतिशतको गिरावट आएको छ । गत वर्षको पहिलो चौमासमा ४ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा यो वर्ष ४ खर्ब ८६ अर्ब रुपैयाँको मात्रै व्यापार भयो ।

वैदेशिक व्यापारमा संकुचन आए पनि त्यसले राजस्व संकलनमा भने असर गरेको छैन् । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १ खर्ब २२ अर्ब ९७ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको छ । यो गत वर्षको तुलनामा शून्य दशमलव ५ प्रतिशतले थोरै हो ।

गत वर्षको पहिलो चौमासिकमा १ अर्ब २२ करोड २५ करोड रूपैयाँ भन्सार राजस्व संकलन भएको थियो । विभागको तथ्यांकले कोरोना महामारीका माझ वैदेशिक व्यापार पुरानै लयमा फर्किएको देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *