Main News

भारतीय विदेश सचिवको भ्रमणले खुल्यो त संवादको बाटो ? विज्ञहरु के भन्छन ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १२ गते १९:०७
भारतीय विदेश सचिवको भ्रमणले खुल्यो त संवादको बाटो ? विज्ञहरु के भन्छन ? (भिडियोसहित)

१२ मंसिर, २०७७ काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको भ्रमणका विषयमा विज्ञहरुले मिश्रित प्रतिक्रिया दिएका छन । केहीले संवादनै नभएको अवस्थामा भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन भने केहीले सीमा समस्या समाधानमा त्यतिधेरै उत्साहित हुनु नपर्ने प्रतिक्रिया दिएका छन् ।

भारतकै कारण सिर्जना भएको समस्या समाधानका लागि उच्च राजनीतिक तहमा संवादको वातावरण बनाउन उनीहरुको सुझाव छ । हिमालय टेलिभिजनसँग कुरा गर्दै पूर्व परराष्ट्रमन्त्री डाक्टर प्रकाशचन्द्र लोहनीले संवादनै नभएको अवस्थामा भएको भ्रमण सकारात्मक भएको बताउनुभयो ।

तर यो भ्रमणले मात्र समस्या समाधान नहुने भन्दै थप पहल गर्न उहाँले सरकारलाई सुझाव दिनुभयो ।

परराष्ट्रविद् डाक्टर दिनेश भट्टराईले भारतीय विदेश सचिवको भ्रमणलाई सकारात्मक भन्दै समस्या समाधानका लागि आशावादी हुने अवस्था सिर्जना भएको बताउनुभयो ।

तर, पूर्व प्रशासक एवं सीमा बचाउ अभियन्ता द्वारिकानाथ ढुंगेलले श्रृङ्गलाको भ्रमण केबल सदभावना भ्रमण मात्रै भएको बताउनुभयो । उच्च राजनीतिक र कूटनीतिक तहको संवादबाट मात्र समाधान हुनसक्ने सीमा विवादमा श्रृङ्गलाको भ्रमणबाट धेरै आश गर्ने ठाउँ नरहेको उहाँको भनाई छ ।

श्रृङ्गलाको भ्रमणलाई सरकारले सीमा विवाद समाधानका लागि एउटा महत्वपूर्ण खुड्किलो भनेको छ । तर अन्य देशमा भारतले उच्चस्तरका प्रतिनिधि पठाइरहँदा नेपालमा भने कर्मचारीका माध्यमबाट संवाद स्थापना गर्न खोज्नुलाई कतिपयले औपचारिकतामात्र निभाउन खोजेको भनेर व्याख्या गरेका छन् ।

यसैबीच पूर्व परराष्ट्रसचिव प्रधुम्नविक्रम शाहले भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाको नेपाल भ्रमणले दुई देशबीचको संवादहीनता तोडेको बताउनुभएको छ ।

दुई दिने भ्रमण सकेर आज स्वदेश फर्किनुभएका श्रृङ्गलाको नेपाल भ्रमणले नेपाल–भारतबीच विगत एक वर्षदेखिको संवादहीनता तोडेको उहाँले बताउनुभयो । दक्षिण एसियाको महाशक्तिका रुपमा उदाइरहेको भारतलाई नेपाललगायत छिमेकीहरुसँग चिसिएको सम्बन्धले फाइदा पनि नगर्ने उहाँले बताउनुभयो ।

श्रृङ्गलाको नेपाल भ्रमणले दुई देशबीचको चिसिएको सम्बन्ध सुमधुर मात्रै नभएर भारतको आन्तरिक जीवनमा पनि यसले ठूलो भूमिका खेल्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यसले बलरोल हुन थालेको छ । दुई पक्षीय वार्ता नभएर संवादहीनताको अवस्थालाई यसले चिरेको छ । भारतको चाहना पनि छिमेकी राष्ट्रहरुसँग चिसिएको सम्बन्धले फाइदा गर्दैन भन्ने हो । आन्तरिक राजनीतिक र अन्तर्राष्ट्रियस्तरम भारतको ‘क्रिटिसिजम’ नै हुन्छ । त्यसैले पनि भारतले नेपाल लगायत माल्दिभ्स, भुटान र बंगलादेश लगायतका देशहरुसँग सम्बन्ध विकास गरिरहेको छ ।
पूर्व परराष्ट्रसचिव शाहले भन्नुभयो–‘संयुक्त राष्ट्रसंघीय परिषदको सदस्यता पाउन प्रयासरत रहेको भारतलाई सबै देशहरुको सपोर्ट आवश्यकता पर्छ । त्यसैले भारतले सबै छिमेकीहरुसँको सम्बन्ध सौहार्द राख्न प्रयास गरेको छ ।’’

पूर्व परराष्ट्रसचिव शाहले परराष्ट्र मन्त्रीस्तरमा हुने वार्तामा नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायत ७१ ठाउँमा देखिएको सीमा विवादको विषयलाई मुख्य मुद्दा बनाउनुपर्ने बताउनुभयो ।

इपीजीले तयार पारेको प्रतिवेदनमाथि पुनः दुबै पक्षले छलफल गरी अन्तिम रुप दिनुपर्ने सुझाव पनि उहाँले दिनुभयो । नेपालको तराई क्षेत्रमा वर्षेनी डेढ दर्जनभन्दा बढी क्षेत्रमा डुबानको समस्या रहेको उल्लेख गर्दै उहाँले त्यो समस्या समाधान गर्दै नेपाल–भारतको बढ्दो व्यापार घाटाको विषयमा पनि नीति परिवर्तनको मुद्दा उठाउनुपर्ने बताउनुभयो । उहाँले रक्सौल—काठमाडौं र पूर्व—पश्चिम रेल तथा हुलाकी राजमार्ग लगायतका एजेण्डा राख्नुपर्ने पनि बताउनुभयो ।

बिहीबार नेपाल आउनुभएका भारतीय विदेशसचिव श्रृगला आज फर्किनुभएको छ । नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *