Main News

कोरोना संक्रमणबाट मोरङ र चितवनमा थप तीन जनाको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर १२ गते १३:०८
कोरोना संक्रमणबाट मोरङ र चितवनमा थप तीन जनाको मृत्यु

१२ मंसिर, २०७७ काठमाडौं । कोरोना संक्रमणका कारण मोरङ र चितवनमा थप तीन जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण मोरङमा सुत्केरी महिलाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका–१० घर भएकी २५ वर्षीय सुत्केरी महिलाको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।

१७ दिनकी सुत्केरी महिलाको बिहीबार राति ११ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । श्वास फेर्न गाह्रो भएपछि १० मंसिरमा महिलालाई नोबेलमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा मिर्गौलामा खराबी र निमोनिया देखिएको थियो । २५ गते शल्यक्रियामार्फत छोरी जन्माएकी महिलालाई ३० कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो ।

यस्तै चितवनको भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भरतपुर महानगरपालिका–१७ बस्ने ७७ वर्षीय पुरुषको बिहान सवा पाँच बजे र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बस्ने ५७ वर्षीया महिलाको बिहान ६ बजे मृत्यु भएको हो ।

भरतपुर–१७ का वृद्ध यही मंसिर ५ गते कोभिड संक्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका थिए । मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई ६ मंसिरमा कोभिड आइसीयूमा राखेर उपचार गरिएको थियो ।

हेटौंडा–१० की ५७ वर्षीया महिलालाई भने यही मंसिर ११ गते कोभिड संक्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर भरतपुर अस्पतालमा ल्याइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *