Main News

आफ्नै लगानीमा केरुङ–काठमाडौं रेलमार्गको डीपीआर निर्माण गर्न चीन सकारात्मक

हिमालय टिभी
२०७७ मंसिर १२ गते ८:३०
आफ्नै लगानीमा केरुङ–काठमाडौं रेलमार्गको डीपीआर निर्माण गर्न चीन सकारात्मक

१२ मंसिर, २०७७ काठमाडौं । आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन डीपीआर निर्माण गर्न चीन सरकार सकारात्मक भएको छ ।

प्रस्तावित रेलमार्गको निर्माण तथा सञ्चालनबारे दुई मुलुकका पदाधिकारीबीच हिजो भएको छलफलमा रेलमार्गको डीपीआर तयार गर्न चिनियाँ पक्ष सकारात्मक भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

यसअघि रेलमार्गको डीपीआर तयार गरिदिन नेपालले चीन सरकारसमक्ष औपचारिक प्रस्ताव गरेको थियो । मन्त्रालयमा भएको भर्चुअल बैठकमा नेपालका तर्फबाट नेतृत्व गरेका मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले चीनले आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा विस्तृत सम्भाव्यता अध्ययन तयार गरिदिन चिनियाँ पक्ष सकारात्मक रहेको जानकारी दिनुभयो ।

बैठकमा नेपालका तर्फबाट सचिव श्रेष्ठका साथै गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा रेल विभागका महानिर्देशकको सहभागिता थियो । चीनका तर्फबाट नेसनल रेल्वे एड्मिनिस्ट्रेसनका उपप्रशासक आङ लु सीले नेतृत्व गर्नुभएको थियो ।

यसअघि नै प्रस्तावित रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । अब चिनियाँ पक्षले डीपीआरका लागि विस्तृत गृहकार्यसहित प्रस्ताव नेपाललाई पठाउने र त्यसलाई नेपालले अध्ययन गरेपछि दुवै पक्षबीच निर्णय हुनेछ ।

डीपीआर तयार गर्न चिनियाँ पक्ष छिट्टै नेपाल आउने जानकारी सचिव श्रेष्ठले दिनुुभयो । रेलमार्गको लम्बाइ करिब ७२ किलोमिटर हुनेछ । अध्ययनअनुसार सो रेलमार्गमा चारवटा स्टेसन प्रस्ताव गरिएको छ ।

पहिलो स्टेसन केरुङमा हुनेछ भने काठमाडौँ र केरुङको बीचमा दुईवटा र अन्तिम स्टेसन काठमाडौँको टोखामा हुनेछ । रेलमार्ग निर्माण गर्न चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङसम्म अध्ययन सम्पन्न गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *