आर्थिक

काेराेना जाेखिमबीच ८१ वटा नयाँ उद्याेग दर्ता (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ११ गते २०:२२
काेराेना जाेखिमबीच ८१ वटा नयाँ उद्याेग दर्ता  (भिडियोसहित)

११ मंसिर, २०७७ काठमाडौं । कोरोना महामारीका माझ चालु आर्थिक वर्षको पहिलो चौमासिकमा साढे ६६ अर्ब रुपैयाँ बराबरको लगानीमा ८१ वटा उद्योग दर्ता भएका छन् । यसबाट झन्डै ५ हजार रोजगारी सृजना हुनेछ ।

गत वर्षको दाँजोमा उद्योग दर्ता र सृजना हुने रोजगारी घटेपनि कोरोना जोखिमका बीच यति हुनु पनि सकारात्मक नै रहेको अर्थविद्को ठम्याइ छ ।

कोरोना महामारीका कारण उद्योग कलकारखानामा ठूलो असर परिरहेका बेला त्यसले नयाँ लगानीकर्तालाई भने निरुत्साहित नगरेको देखिएको छ । कोरोना महामारीका माझ चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ८१ वटा उद्योग दर्ता भएका छन। उद्योग विभागमा दर्ता यी उद्योगमा ६६ अर्ब ५६ अर्ब रुपैयाँ लगानी हुनेछ भने यसबाट ४ हजार ९ सय ७९ रोजगारी सृजना हुनेछ ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सबैभन्दा बढी आकर्षण साना उद्योगमा देखिएको छ । यो अवधिमा ५० वटा साना, १६ वटा मझौला र १५ वटा ठूला उद्योग दर्ता भएका छन । यद्यपी गत वर्षको तुलनामा यो वर्ष उद्योग दर्ताको संख्या भने घटेको छ ।

गत वर्ष पहिलो चौमासिकमा ७२ अर्ब ९ करोड लगानीसहित १ सय २१ वटा उद्योग दर्ता भएका थिए । यसबाट साढे ७ हजार रोजगारी सृजना हुने प्रस्ताव थियो । कोरोनाका कारण लगानीको वातावरण सहज नभइसक्दा उद्योग कलकारखाना खोल्ने क्रम घटेको हो । तर विज्ञ भने अहिलेको स्थितिमा यसलाई सकारात्मक मान्छन् ।

पोहारको दाँजोमा उद्योग खुल्नेक्रम घटेपनि कोरोना महामारीका माझ दर्ता भएका उद्योगको संख्याले लगानीको वातावरण नविथोलिएको अर्थविद्को दावी छ ।

यद्यपी कोरोना महामारीले बेरोजगारीको समस्या विकराल बनाएको भन्दै त्यसका लागि लगानी अभिवृद्धि गर्न अत्यावश्यक रहेको विज्ञको मत छ । तर लगानी वृद्धिका लागि भने सरकारले व्यापक सुधार गर्न आवश्यक रहेको विज्ञले औँल्याएका छन् ।

कोरोना महामारीका माझ धेरै उद्योगले अहिले पूर्ण क्षमतामा काम गर्न सकेका छैनन् भने विभिन्न समस्या समेत झेलिरहेका छन् । अझ कतिपय उद्योग त बन्दै छन् । यस्तो अवस्थाका माझ नयाँ उद्योग खुल्नेक्रम नरोकिनु सकारात्मक भएपनि पर्याप्त हैन् । त्यसैले विज्ञको सुझावका आधारमा सुधार ल्याएर लगानीको वातावरण बनाउन सरकार लाग्नु आवश्यक देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *