Main News

भारतीय विदेश सचिवको भ्रमणः कूटनीतिक संवादको ढोका खुला (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ११ गते २०:०९
भारतीय विदेश सचिवको भ्रमणः कूटनीतिक संवादको ढोका खुला (भिडियोसहित)

११ मंसिर, २०७७ काठमाडौं । भारतीय विदेश सचिव दुई दिने भ्रमणका लागि आज नेपाल आउनुभएको छ । यो भ्रमणले दुई मुलुकबीच कूटनीतिक संवादको बाटो खुला गरेको छ । भारत र नेपालबीच १५ महिनापछि परराष्ट्र सचिवस्तरीय वार्ता भएको छ । नेपाली भूमि मिचेर भारत आफैले बिगारेको सम्बन्ध सुधारका लागि यसले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

नेपाल र भारतबीच १५ महिनापछि परराष्ट्र सचिवस्तरीय वार्ता भएको छ । भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेपछि दुई देशबीच भएको यो पहिलो कुटनीतिक वार्ता हो ।

वार्तामा नेपालको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्याल र भारतको नेतृत्व भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले गर्नुभयो । दुईपक्षीय औपचारिक वार्ता अगाडि दुई सचिवबीच एक्ला एक्लै वार्ता भएको थियो ।

सचिवस्तरीय वार्तामा के के कुराकानी भयो र के सहमति भयो भन्ने औपचारिक रुपमा अहिलेसम्म सार्वजनिक भएको छैन, केहीबेरमा विज्ञप्ति जारी गरेर त्यसबारे जानकारी दिइनेछ । तर नेपाल र भारत दुवैले वार्तालाई सकारात्मक भनेका छन् ।

भारतीय विदेश सचिव श्रृंगलाले छलफलको राम्रो शुरुवात भएको प्रतिक्रिया दिनुभएको । उहाँले दुई देशका बीचमा समस्या समाधान गर्ने विषयमा छलफल बताउनुभएको छ ।

वार्ता एकदमै उपलब्धीमूलक भएको र आर्थिक सहयकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा एकदमै उपयोगी छलफल भएको उहाँको प्रतिक्रिया छ ।

बैठकपछि परराष्ट्र मन्त्रालयले एक ट्वीटमार्फत दुई देशका बीचमा विभिन्न विषयमा छलफल भएएको जनाएको छ । काठमाडौस्थित भारतीय दूतावासले दुबै पक्षले थुप्रै द्विपक्षीय पहल र परियोजनामा भएको प्रगतिको सराहना गरेको जनाएको छ । दूतावासले भनेको छ–आपसी सहकार्यलाई अगाडि बढाउन थप कदम चाल्ने सहमति पनि भयो । यसले दुई देशका बीचमा उच्चस्तरको कुटनीतिक वार्ताका लागि ढोका खुलेको ठानिएको छ ।

४ भदौ ०७६ मा काठमाडौंमा दुई मुलुकका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भएको थियो । जसमा भारतीय विदेशमन्त्री डाक्टर सुब्रमण्यम् जयशंकर आउनुभएको थियो । त्यसको दुई महिनापछि भारतले कालापानीसमेतको जमिन समेटेर नयाँ नक्सा जारी गर्यो र त्यसपछि दुई मुलुकबीच औपचारिक कूटनीतिक वार्ता रोकियो ।

गत वर्ष कात्तिक १६ गते भारतले नेपालको भूमि आफनो नक्सामा राखेपछि नेपालले त्यसको विरोध गर्दै नोट पठायो । तर भारतले वास्ता गरेन उल्टै उसले लिपुलेकमा नेपाली भूमिमा बाटो बनायो । यसको पनि नेपालले विरोध गर्यो । तर भारतले आफ्नै भूमिमा बनाएको जिकिर गर्यो । त्यसपछि नेपालले जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटर नक्सा सार्वजनिक गर्यो । जसलाई जेठ ३१ गते संसदले पारित गर्यो ।

यति हुँदा हुँदै पनि नेपालले पटक पटक वार्ताको प्रयास गरेको थियो । तर भारतले वेवास्ता गर्यो । तर गत १५ अगस्टमा प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्तामा औपचारिक संवाद सुरु गर्ने सहमति भएको थियो । र, त्यसले गति लिएको देखिन्छ ।

ओली मोदी संवादपछि भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल र सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गर्नुभयो । र, संवादको निरन्तरताकै रुपमा भारतीय विदेश सचिवको भ्रमण भएको देखिन्छ ।

यसले यो भन्दा माथिल्लो तहको वार्ताका लागि सकारात्मक वातावरण तयार पार्न सहयोग मिल्ने देखिन्छ, किनकी नेपाल र भारतकाबीचमा अहिले भारतकै कारण सीमा सम्बन्धी जुन समस्या देखिएको छ, त्यो समाधान माथिल्लो तहबाट मात्रै सम्भव देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *