धार्मिक पर्वमा देवघाट नआउन आग्रह

हिमालय टिभी
२०७७ मंसिर ११ गते ९:३५
धार्मिक पर्वमा देवघाट नआउन आग्रह

११ मंसिर, २०७७, चितवन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा पर्वका अवसरमा भक्तजन तथा श्रद्धालुलाई नआउन आग्रह गरिएको छ । देवघाट क्षेत्र विकास समितिले कोभिड–१९ को सङ्क्रमणको जोखिम यथावत रहेकाले नआउन आग्रह गरेको हो ।

समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बुधबार विज्ञप्ति प्रकाशित गरी हरिबोधिनी एकादशी, बालाचतुर्दशीलगायतका मेला पर्वमा नआउन आग्रह गर्नुभएको छ ।

विज्ञप्तिमा विभिन्न धार्मिक, सांस्कृतिक महत्वका मेलापर्वमा देवघाटधाममा श्रद्धालुको ठूलो जमघट हुने परम्परा रहिआएको भए पनि कोरोना भाइरस सङ्क्रमणको जोखिम यथावत् नै रहेको र मेला पर्व, उत्सव गरी भीडभाड नगर्ने सरकारको नीति कायमै रहेको उल्लेख छ । परिस्थितिवश गरिएको अनुरोधलाई सबैले मनन गरी घरमा नै बसी परम्पराअनुसार मनाउनसमेत अनुरोध गरिएको छ ।

देवघाटधाममा अधिकांश वृद्धवृद्धा बसोबास गर्ने गर्दछन् । चिसो मौसममा वृद्धवृद्धामा सङ्क्रमण फैलिएमा कठिन अवस्था आउन सक्ने समितिका अध्यक्ष शिवराज पौडेलले बताउनुभयो । उहाँका अनुसार अन्त्येष्टि कर्ममा समेत सम्भव भएसम्म थोरै व्यक्ति आइदिन आग्रह गरिएको बताउनुभयो ।

देवघाटधाममा औँसी, पूर्णिमा, एकादशी, माघे सङ्क्रान्ति, बालाचर्तुदशी, शिवरात्रि, साउने सङ्क्रान्तिलगायतका पवित्र दिनमा स्नान गर्न ठूलो सङ्ख्यामा भक्तजन आउने गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *